- गुरुप्रशाद पाैडेल
यही असार २० गते नेपाल राष्ट्र बैंकले आगामी आ.व.का लागि जारी गरिने मौद्रिक नीति सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा उठेका केही कुराले यो स्टाट्स लेख्न मन लाग्यो । यस विषयमा धेरै जना अस्पष्ट भएको पनि बुझियो ।
१. विदेश जांदा नेपाली नोट (नेरू) जति पनि बोकी हिंडन मिल्दैन । त्यसो त नेपाली रूपैयाँ अन्य देशमा कारोबारका लागि बैध पनि छैन । तथापी कहिलेकाही विदेशमा कसैलाइ उपहार (नेपाली नोटहरू संसारका राम्रा नोटहरू मध्ये पनि पर्छन) दिनु पर्ने हुन सक्छ, यात्राबाट फर्कदा नेपालमै गाडी, ट्याक्सी भाडा चाहिएला कि भनेर केही नोट बोकी हिड्ने चलन पनि छ । हो यिनै विषयलाइ मनन गरेर नेपाली रूपैया पाँच हजारसम्म मात्र विदेश जाँदा साथमा लैजान मिल्छ । यो भन्दा बढी नेपाली रूपैयाँका नोट बोकेर विदेश हिड्नु गैर कानूनी हो ।
२. नेपाली नागरिकले विदेश भ्रमणका लागि एक वर्षमा प्रतिपटक अमेरिकी डलर २५०० वा सो वराबरको अन्य कुनै पनि परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाइन्छ । यस्तो सुविधा एक वर्षमा २ पटक पाइन्छ । नेपालमा विदेशी मुद्रामै खाता भएका वा विदेशी मुद्राको कार्ड भएकाले विदेशी मुद्राको अलि बढि सुविधा पनि प्रयोग गर्न सक्छन् ।
३. परिवर्त्य विदेशी मुद्रा भन्नाले नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंकले खरिद दर र विक्रि दर खुलाइ नेपालका बाणिज्य बैंकले सटही गर्न सकिने व्यवस्था गरेको विदेशी मुद्रालाइ वुझिन्छ । अहिले अमेरिकी डलर, व्रिटिश पाउण्ड, अष्ट्रेलियन डलर, जापानिज येन, चाइनिज युवान लगायत २० वटा परिवर्त्य विदेशी मुद्रा छन् । भारतीय रूपैयाहरू विदेशी मुद्रा हुन तर परिवर्त्य विदेशी मुद्रा होइनन ।
४. भारतबाट नेपाल आउँदा भा.रू. १०० दरका नोटभन्दा ठूला नोट बोकेर ल्याउनु, कारोबार गर्नु गैरकानूनी हो । भा.रू. १०० सम्मका नोट लिइ आउन कुनै सीमा छैन तर श्रोत भने खुल्नु पर्छ । नेपालबाट भारत घुमफिर गर्न जाँदा साथमा भा.रू.१०० सम्मका २५ हजारसम्म र उपचार गर्न जाँदा भा.रू. ५० हजार नगदै लैजान सकिन्छ । भारतमा उपाचार गराउँदाको अस्पतालको वील, होटलको वील, औषधि किन्दा फर्मास्टीकलको वील बमोजीमकै रकम नेपालका बैंकले जारी गरेको कार्ड (डेविट तथा क्रेडिट) बाटै तिर्न सकिन्छ ।
५. विदेश (भारतबाहेक) बाट नेपाल आउँदा अमेरिकी डलर ५ हजार वा सो वराबरको अन्य कुनै पनि परिवर्त्य विदेशी मुद्रा साथमा सजिलै ल्याउन सकिन्छ । ५ हजार डलरभन्दा बढी ल्याउन पनि सकिन्छ तर अनिवार्य रूपमा नेपालको भन्सारमा स्वघोषणा गराउनु पर्दछ । भन्सार स्वघोषणा फाराम भन्सारमा सजिलै पाइन्छ ।
६. नेपालमा संसारकै ठुला भनिएका Bank Card Issuer ले जारी गरेका कार्डहरू जस्तै Visa, Mastercard, Amex, Discover, UnionPay, JCB का कार्डहरू स्विकार हुन्छन् । नेपालमा अब कोही पनि विदेशी नागरिक नगद डलर बोकी नआउँदा पनि कार्डबाट काम चल्ने वातावरण लगभग बनिसकेको छ ।
७. नेपालका बैंकहरूले जारी गरेका विदेशी मुद्राका कार्डहरू संसारका सबैजसो देशमा स्वीकारयोग्य भैसकेका छन् । अव छिट्टै नागरिक तहमा समेत Issuing and Acquiring Level मा कारोवार गर्न सकिने गरी गृहकार्य भैरहेको छ ।
(पाैडेल नेपाल राष्ट्र बैंक बैंक तथा वित्तिय संस्था नियमन विभागका निर्देशक हुनुहुन्छ)