उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने


 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघिको विधानमा महासंघ वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान थियो।

विधानलाई महासंघको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेसँगै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने बताए।

arghakhanchiShree Steel
उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समिति गठन गरी काम गरिएको भए पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको बताए।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए। प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए।

प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ। संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ। हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्ष पनि थपिएको छ।

महासंघको कार्यसमितिबाट संशोधित विधानलाई आगामी मङ्सिर मसान्तभित्र विशेष साधारणसभाले पारित गर्ने छ।

प्रकाशित मितिः     २५ असार २०८१, सोमबार २१:३३  |