नेपालगन्ज । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले सोमबार ११ बजे शपथ लिँदै छन् भने उनीसँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि शपथ खुवाउने तयारी छ ।
ओली तेह्रथुमको आठराई इवामा २००८ फागुन ११ मा जन्मिएका हुन् । उनी १२ वर्षको हुँदा २०२० मा उनको परिवार झापामा बसाइँ सरेको थियो । १५ वर्षको उमेरमा ओली मार्क्सवादी अध्ययन दलमा संगठित भएर राजनीतिमा लागेका थिए । राजनीतिक दलमा संगठित भएको दुई वर्षपछि २०२५ मा पूर्णकालीन कम्युनिस्ट कार्यकर्ताका रूपमा राजनीतिमा सक्रिय भएका थिए ।
पार्टीमा पूर्णकालीन भएको एक वर्षपछि उनले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०२७ देखि पञ्चायत शासनविरुद्ध भूमिगत आन्दोलनमा लागेका थिए । २०३० असोजमा आन्दोलनका क्रममा पक्राउ परेका ओलीको १४ वर्ष जेलमै बित्यो, त्यसअघि पनि उनी राजनीतिक आन्दोलनका क्रममा पटकपटक पक्राउ परिसकेका थिए ।
२०३० मा भने उनीविरुद्ध राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरी पञ्चायती शासनले ४ वर्ष गोलघरसहित १४ वर्ष जेलमा राखेको थियो । २०४४
असार ११ मा १४ वर्ष जेल सजाय काटेर रिहा भएका थिए । सोही वर्ष पुसमा नेकपा (माले) को केन्द्रीय सदस्य मनोनयन भए भने पार्टीको लुम्बिनी अञ्चल कमिटी इन्चार्जको जिम्मेवारी उनलाई दिइयो ।
ओलीले २०४७ मा संस्थापक अध्यक्ष भएर प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल गठन गरेका थिए । यो एमालेको युवा संगठन हो । २०४७ मा माले र मार्क्सवादीबीच एकीकरण भएर नेकपा (एमाले) बन्यो, ओली संस्थापक केन्द्रीय सदस्य बने ।
२०४८ को आम निर्वाचनमा ओली झापा–६ बाट प्रतिनिधिसभा सांसदमा पहिलो पटक निर्वाचित भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट निर्वाचित भएर उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । सोही वर्ष उनलाई पार्टी संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो । २०५४ मा पार्टी छैटौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित भएका उनले विदेश विभाग प्रमुखको जिम्मेवारी पाए । २०५६ को आम निर्वाचनमा झापा–६ बाट निर्वाचित उनी संसद्मा प्रतिपक्षी दलको उपनेता बनेका थिए ।
२०५९ को सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव राखेका उनी स्थायी समिति सदस्य र विदेश विभाग प्रमुखमा पुनः निर्वाचित भएका थिए । २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्बाट गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधान तथा विदेशमन्त्री नियुक्त भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने ओली पराजित भए । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा लडे पनि झलनाथ खनालसँग पराजित भए ।
दोस्रो संविधानसभा निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित ओलीले पार्टी अध्यक्ष खनाललाई संसदीय दलको नेतामा पराजित गरी संविधानसभा तथा व्यवस्थापिका संसदीय दलको नेता निर्वाचित भए । त्यसपछिका दुई प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा उनी झापा–५ बाट विजयी भएका थिए ।
२०७१ साउनमा भएको एमाले नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर ओली पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उनी चौथो पटक मुलुकको कार्यकारी प्रमुख बनेका छन् ।