नेपालगन्ज । चिनि चामल लगायतका वस्तुहरुको आयात घटे संगै नेपालगंज भन्सार कार्यालय राजश्व असुलीको लक्ष्यमा पुग्न सकेन।
भारत हुँदै नेपाल भित्रिने मालवस्तुको आयात घटेपछि नेपालगंज भन्सार कार्यालय तोकिएको राजश्व असुलीको लक्ष्यमा पुग्न नसकेको हो। लगातार दोश्रो आर्थिक बर्षमापनि नेपालगंज भन्सार कार्यालय तोकिएको राजश्व असुलीको लक्ष्य पूरा गर्न सकेको छैन ।
आर्थिक वर्ष २०८० / ०८१ मा २८ अर्ब ६६ करोड २५ लाख ३५ हजारको राजश्व असुलीको लक्ष्य पाएको नेपालगंज भन्सार कार्यालयले १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार १ सय ९१ रुपैया अर्थात ६३ दशमलब ३४ प्रतिशत मात्र राजश्व असुली गरेको हो। कुनै आर्थिक बर्षमा २१ अर्बसम्म राजश्व असुली गरेको नेपालगंज भन्सारले गत दुई आर्थिक बर्षमा भने राजश्व असुली खस्किएको जनाएको छ ।
गत आर्थिक बर्ष २०८० /०८१ मा लक्ष्य भन्दा निकै कम राजश्व असुली भन्सार विभागले नेपालगंज भन्सार कार्यालयलाई चालु आर्थिक वर्ष २०८१ / ०८२ का लागि १ अर्ब लक्ष्य घटाएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुबराज विश्वकर्मा बताउँछन् । उनले चिनी, चामल, डिजेल लगायतका बस्तुहरुको आयात घटे पनि जडिवुटी , प्लाइउड, सिमेन्ट , कत्था लगायतका बस्तुहरुको निर्यात बढेको बताएका छन् ।
आगामी आर्थिक वर्षको लक्ष्य पूरा गर्नलाई चोरी पैठारी नियन्त्रण, भन्सार विभागले दिएको रणनितिको परिपालना गर्ने नेपालगंज भन्सार कार्यालयले योजना बनाएको छ।