गम्भीर बिबादमा उपसभामुख


आजको कान्तिपुरबाट

काठमाडौँ —उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन महिनाअघि नै जानकारी भएको खुलासा भएको छ । अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको थियो । यो प्रकरण सतहमा आएपछि रास्वपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो । यो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् ।

आफूसँगै पाँच जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् । जबकि संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्र मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिहरूको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् ।

लैंगिक समानता, महिला अधिकार र सशक्तीकरणमा काम गर्ने अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था हो सीएसडब्लू । यसको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन् । तर, उपभामुखको पत्रमा दूतावास विश्वस्त नभएकाले पाँच जनाले भिसा पाएनन् ।

पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै सम्बन्धित व्यक्तिहरूले गत वैशाखमा रास्वपाको संयन्त्रमा गुनासो गरेका थिए । यो विषयमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकाल र संगठन विभागका सचिव शंकर श्रेष्ठबीच विभिन्न चरणमा छलफल भएको थियो ।

 

 

पार्टी संयन्त्रसँगको छलफलमा उपसभामुखले आफूले त्यस्तो पत्राचार नै नगरेको दाबी गरेको संगठन सचिव श्रेष्ठको दाबी छ । ‘नुवाकोटको एक गाउँपालिकाका पार्टी सभापतिमार्फत उपसभामुखको विषयमा जानकारी आएको थियो । त्यतिबेला महामन्त्री मुकुल ढकाल र उपसभापति डीपी अर्यालले बुझ्नुभयो । यता, उपसभामुखले त्यस्तो पत्र लेखेको छैन भन्नुभएको कुरा आयो । तर गृहमन्त्री (रवि लामिछाने) मार्फत अध्यागमनमा पनि सोधियो । त्यहाँ लेखिएका मान्छे कोही पनि बाहिर गएका छैनन् भन्ने थाहा भएपछि इलामको चुनावमा हान्न खोजेको रहेछ भन्ने हिसाबले बुझ्यौं,’ श्रेष्ठले भने ।

तर, अमेरिका जान नपाएको र पैसा पनि डुबेको भन्दै पार्टीमा गुनासो आएको थियो । यो विषय पुष्टि गर्दै श्रेष्ठले कान्तिपुरसँग भने, ‘मेरो आफन्तको पैसा हो, पैसा लिएको छ, फिर्ता गरेन, झुलायो भन्ने हिसाबले कुरा आयो । पछि कुरा मिल्यो भन्ने आयो, पैसा फिर्ता भयो होला भनेर हामीले चासो राखेनौं ।’ उपसभामुखको लेटरप्याड प्रयोग गरेर अमेरिका पठाउने भन्दै आर्थिक कारोबार भएको विषयलाई रास्वपाले अझै पनि सामान्य रूपमा लिएको छ ।

प्रकाशित मितिः     ४ श्रावण २०८१, शुक्रबार ०६:३७  |