नेपालगन्ज । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो। भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराए । यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जिने मौका समेत रहनेछ ।
अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताए । विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउँदा सिनेरोयलका संस्थापक डा. विनोद थापाले खुशी व्यक्त गरे । डा. थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित छन् ।
उनका सुपुत्र डा. राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमाघरको परिकल्पना डा राहुलले गरेका थिए । र, गत बर्ष साउन ११ गते सिनेरोयलले आफ्नो सेवा सुरु गरेको थियो सिने रोयलको सफल यात्राका लागि संस्थापक डा विनोद थापाले सम्पुर्ण नेपालगन्जवासी प्रति आभार प्रकट गरे । साथै उनले कर्मचारीको पनि मुक्तकण्ठले प्रशंसा गरे ।
सिनेरोयलको एक बर्ष यात्रामा गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सुचिमा आफ्नो नाम लेखाएको छ। त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जिन सफल सिनेमा बनेको छ ।