गण्डकी प्रदेश ४१ देशका पर्यटक आउँछन्,दैनिक ६२ डलर खर्चिन्छन्


 

नेपालगन्ज । गण्डकी प्रदेश घुम्न आउने विदेशी पर्यटक औषतमा १२ दिन बस्ने गरेको एक अध्ययनले देखाएको छ।

अध्ययन प्रतिवेदन अनुसार उनीहरूको दैनिक खर्च जम्मा ८ हजार ३५५ रुपैयाँ अर्थात ६२ अमेरिकी डलर छ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालय अनुसन्धान इकाइले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा गरेको ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति’ सम्बन्धी विशेष अध्ययन प्रतिवेदनले उक्त तथ्यांक दिएको हो।

सर्वेक्षणमा भाग लिएका पर्यटकले गण्डकीमा १२ दिन बिताउने र नेपालको कुल बसाई भने २२ दिन मात्र भएको उल्लेख गरेका छन्।

गण्डकी घुम्न आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण अमेरिकाबाट आउने पर्यटक १९ दिन बस्ने गरेको पाइएको छ भने सबैभन्दा कम एसियाली पर्यटक ९ दिन बस्ने गरेको पाइएको छ। अष्ट्रेलियाली पर्यटक १५ दिन, उत्तर अमेरिकी र युरोपियन पर्यटक १३ दिन गण्डकीमा बिताउने गरेका छन्।

गण्डकीमा आएका विदेशी पर्यटकले सबैभन्दा धेरै खर्च खानामा २८ प्रतिशत गर्ने गरेका छन्।

यस्तै, बसाइमा २७ प्रतिशत, यातायातमा २१ प्रतिशत, मनोरञ्जनमा १२ प्रतिशत, किनमेलमा ५ प्रतिशत र कर २ प्रतिशत खर्च गर्ने गरेको उल्लेख छ।

गण्डकीको कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा र नवलपुरमा विभिन्न सिजनमा घुम्न गएका ४ सय जना पर्यटकसँग सर्वेक्षण गरी उक्त प्रतिवेदन तयार पारिएको राष्ट्र बैंक पोखराका प्रमुख बिना ढकालले बताइन्।

 

‘हामीले गण्डकीका ६ वटा जिल्लामा विविध सिजनमा गएका ४ सय पर्यटकसँग सर्वेक्षण गरेर प्रतिवेदन बनाएका हौं,’ उनले भनिन्, ‘गण्डकीमा पर्यटकको संख्या, बसाई र खर्च बढाउन नीति निर्माण गर्दा यो प्रतिवेदनले सहयोग गर्छ।’

सर्वेक्षणमा विश्वका ४१ वटा देशबाट गण्डकी प्रदेश आएका पर्यटक समावेश थिए। जसमा सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत, अष्ट्रेलियाका पर्यटक छन्। सबैभन्दा धेरै पर्यटक युरोप महादेशमा आएको र अफ्रिका महादेशबाट पर्यटकको आगमन शून्य रहेको प्रतिवेदनमा औंल्याइएको छ।

गण्डकीमा सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा ४० प्रतिशत, मनोरञ्जनका लागि २४ प्रतिशत, सांस्कृतिक प्रयोजनका लागि १६ प्रतिशत धार्मिक प्रयोजनका लागि १० प्रतिशत, अन्य प्रयोजनका लागि ५ प्रतिशत र व्यापारिक प्रयोजनका लागि २ प्रतिशत पर्यटक आएको अध्ययनमा देखिएको छ।

गण्डकीमा घुम्न आएका ६८ प्रतिशत पर्यटक पहिलो पटक यस प्रदेश घुम्न आएको बताएका छन्। बाँकी ३२ प्रतिशत पर्यटक दोहोर्‍याएर गण्डकी आएको उल्लेख गरेका छन्। यसरी दोहोर्‍याएर आउनेहरू २ पटकदेखि ३० पटकसम्म आउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

गण्डकीमा घुम्न आउने अधिकांश विदेशी पर्यटक एक्लै आउने गरेको पाइएको छ। सर्वेक्षणमा सहभागी ३४ प्रतिशतले एक्लै घुम्न आएको बताएका छन्। त्यसपछि २८ प्रतिशत साथीसँग, २२ प्रतिशत परिवारसँग र १४ प्रतिशत सामूहिक रूपमा घुम्न आएको बताएका छन्। यसरी घुम्न आएका पर्यटकमध्ये औषतमा महिला १३ दिन र पुरूष ११ दिन मात्र गण्डकीमा बिताउने गरेको प्रतिवेदनमा उल्लेख छ।

सर्वेक्षणमा सहभागी ६० प्रतिशत पर्यटकले गण्डकी बसाई एकदम सकारात्मक रहेको बताएका छन्। यस्तै ३४ प्रतिशत पर्यटकले सकारात्मक, ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत पर्यटकले नकरात्मक अनुभव गरेका छन्।

सर्वेक्षणमा सहभागी ८७ प्रतिशत पर्यटकले गण्डकी प्रदेशबाट सम्पूर्ण आनन्द लिन सकेको र १३ प्रतिशत पर्यटकले पूर्ण आनन्दका लागि थप बसाई बस्नुपर्ने उत्तर दिएका छन्।

गण्डकी प्रदेशको औषत बसाइमा थप २३ दिन बसाई अवधी थप्न सके सम्पूर्ण आनन्द लिन सकिने उनीहरूले जवाफ दिएको प्रतिवेदनमा छ।

गण्डकी प्रदेश घुमफिर गर्दा विदेशी पर्यटकले विभिन्न समस्या भोग्नुपरेको पनि उल्लेख गरेका छन्। सर्वेक्षणमा सहभागी २८ प्रतिशत अर्थात १५० जनाले कुनै समस्या भोग्न नपरको बताएका छन् भने बाँकी पर्यटकले कुनै न कुनै समस्या भोग्नुपरेको बताएका छन्।

गण्डकीमा घुमफिर गर्दा २३ प्रतिशत पर्यटकले यातायातको समस्या भोग्नुपरेको, ३ प्रतिशत पर्यटकले सुरक्षाको समस्या, १२ प्रतिशतले भाषागत समस्या, ६ प्रतिशतले सूचनाको समस्या, १५ प्रतिशत पर्यटकले भुक्तानीको समस्या भोग्नुपरेको बताएका छन्।

यस्तै, सांस्कृतिक फरकपन ५ प्रतिशत र अन्य समस्या ४ प्रतिशतले भोग्नुपरेको उल्लेख गरेका छन्।

प्रकाशित मितिः     ११ श्रावण २०८१, शुक्रबार १६:१४  |