नेपालगन्ज । साढे ३ अर्ब बढि रुपैयाँ निजी लगानीमा बर्दियामा लुम्बिनी सेरामिक्स लिमिटेड संचालनकाे लागि तयार भएको छ ।
पुर्वाधार तयार भइसकेकाले उत्पादन केही दिनमै औपचारिकरुपमा शुरु गर्ने तयारी गरिएको छ । लुम्बिनी सेरामिक्सले वार्षिक ४ करोड १० लाख वर्गमिटर ‘ग्लेज्ड भिट्रिफाइड फ्लोरिङ’ र वाल टाइल्स उत्पादन गर्ने चर्चा छ ।
लुम्बिनीले ३ अर्ब १८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत संस्थापकको (स्वपुँजी) हुने गरी लगानी संरचना तयार पारिएको छ ।
लुम्बिनी सेरामिक्स २०१९ मा स्थापना भएको थियो । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लुम्बिनी २०२३ मा पब्लिक लिमिटेडमा परिणत भएको हो ।
सुब्रत धिताल उद्योगका अध्यक्ष हुन् । लुम्बिनीमा उनको ३१ प्रतिशत स्वामित्व छ । बाँकी मंगलम समूहको बहुमत स्वामित्व छ । १५.९ प्रतिशतका दरले श्यामसुन्दर खेतान, आशुतोष खेतान, शशी चुरिवाला र सिनी खेतानको स्वामित्व रहेकाे संचारमाध्यममा उल्लेख छ ।
उद्योगमा ठूलो संख्यामा राेजगारी सिर्जना हुँदै छ । उद्योगको ईन्जिनियरिङ डिजनाइन नेपालगन्जका चर्चित युवा ईन्जिनियर विवेक लामिछाने नेतृत्वको समुहले गरेकाे हाे ।