लुम्बिनीबाट हिमशृङ्खला हेर्न पाइयाे


 

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ। अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ।

अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन्। श्रीलंकाबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे। उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवं प्रकृतिप्रेमीसँग अनुरोध गरे।

बर्सात्पछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ। प्राय असार–साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमाल देखिने गरेको मायादेवी मन्दिरमा वर्षौंदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउँछन्।

प्रकाशित मितिः     १८ श्रावण २०८१, शुक्रबार ०७:०६  |