(देवी प्रतिभाकाे पक्षमा नेकपा एमालेका नेता एवं सांसद सुर्य थापाले सामाजिक संजालमा व्यक्त गर्नुभएको बिचार)
👉️ शुभ प्रभातम्-
भागवत वाचिका देवी प्रतिभाले व्यासपिठबाट महिलाको वाचन क्षमत, समार्थ्य र हैसियतलाई नेपाली समाजमा एकैपटक चर्चित र लोकप्रियताको शिखरमा पु-याउनु भएको छ। उहाँको वाचनकलाको आज सर्वत्र चर्चा भइरहेको छ।
काभ्रे, मण्डन देउपुरको सामान्य परिवारमा जन्मेर आफ्नो अध्ययन, मेहेनत र साधनाले १४ दिन मात्रकै भागवत वाचनमा उहाँ नेपालमा बहुचर्चित मात्र हुनुभएको छैन, आम स्रोताहरूको मनमनमा सर्वप्रिय बन्नुभएको छ।
मैले उहाँलाई पहिले सुनेको र जानेको थिइनँ।
कामको व्यस्तताले गर्दा कार्यक्रमस्थलमा पुगेर सुन्न पनि संयोग मिलेन। प्रकाश सुवेदीले “द प्रकाश सुवेदी शो”मा र टीकाराम यात्रीले लिनुभएको “अन्तर्वार्ता” तथा इन्द्रेणीमा उहाँको “प्रस्तुति”लाई गंभीरतापूर्वक सुन्ने कोसिस गरें ।
एउटी नेपाली छोरीले भारतमा पुगेर यस क्षेत्रमा हासिल गरेको ज्ञान, क्षमता र उचाइ साँच्चिकै लोभलाग्दो र मोहक देखिन्छ ।
केही बिषयमा उहाँलाई प्रहार गर्ने जुन कोसिस भएको छ, त्यो खेदजनक छ ।
जस्तोकि-
१) उहाँ कमला भासिन होइन, जसले महिला-पुरूष समानताको बारेमा बोल्नुभएको होस् ! देवी प्रतिभाले त शास्त्रमा डिभोर्स नै नरहेको तर आज कानुनमा यो व्यवस्था गरिएको छ भन्दै शास्त्रका विषयमा प्रवचनमा चर्चा गर्नुभएको छ। त्यो एकदम सही छ। त्यसमा उहाँको आलोचना गर्नु अर्थहीन, गलत र द्वेषपूर्ण छ।
२) विवाह निजी मामिला हो। अनिरूद्द आचार्यजी सपरिवार भागवत वाचन गर्न आउँदा र पशुपतिनाथमा पूजाआजा गरेको देख्दादेख्दै देवी प्रतिभाले विवाह गरिसकेको वा नगरेको जुनसुकै अवस्थामा आलोचना खेप्नुपर्ने कुनै तर्कसम्मत आधार छैन। र,भागवत वाचिका हुन अविवाहित नै हुनुपर्ने कुनै पूर्वशर्त र अनिवार्यता पनि छैन।
नेपाली छोरी जन्मभूमि र माइतीमा आउँदा खेदो खन्ने परपीडकहरूलाई श्री पशुपतिनाथले सद्बुद्दि र संस्कार प्रदान गरून् ! खासमा यो नेपाली संस्कार हुँदै होइन।
वाचनशिरोमणि पंडित नारायणप्रसाद पोखरेलले भागवत वाचनलाई नेपालमा जनजनमा लोकप्रिय बनाउनु भएको थियोे। उहाँले भागवत वाचनबाटै सामाजिक क्षेत्रमा अर्बौं रकम संकलन र हस्तान्तरण गर्नुभएको विदितै छ। जल्लादहरूले उहाँको लोकप्रियताबाट तर्सिएर कायरतापूर्वक हत्या गरेर राष्ट्रलाई नै अपुरणीय क्षति पु-याएका छन्।
देवी प्रतिभाले भागवत वाचनमा रहेको पुरूषको एकछत्र वर्चस्वलाई चुनौती दिनुभएको छ। यही चुनौती महसुस गर्नेहरूको आलोचना, विरोध र निन्दा उचित छैन।
उहाँले आफ्नो क्षेत्रमा अरू धेरै गर्नुछ,
म अन्तरहृदयदेखि नै उहाँको अझ बढी
सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।