बाँकेमा बन्दैछ पशुपति आर्यघाट जस्तै सिधनियाघाटमा बैकुण्ठधाम


वाचन शिरोमणि पण्डित दिनबन्धु पोख्रेल र पहलकर्ताहरु बैकुण्ठधाम सिधनियाघाट निर्माणस्थलमा ।

नेपालगन्ज २७ साउन : पशुपति आर्यघाट बाग्मती किनारमा अवस्थित घाट हो। यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो।

इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो । हाे त्यस्तै घाट बाँकेमा पनि निर्माण गर्न यहाँका विभिन्न क्षेत्रका दिग्गजत व्यक्तिहरुले अग्रसरता देखाएका छन् भने त्यसका लागि
वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको उपस्थितीमा नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव हुने भएकोछ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–५, कम्दी स्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि आगामी कार्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव हुने भएको हो ।

 

नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीहरुको समूहले बनाएको मल्हमपट्टी ग्रुपको अगुवाईमा गठित बैकुण्ठधाम सिधनीयाघाट व्यवस्थापन समितिको अगुवाईमा उक्त अध्यात्मिक महोत्सव गर्न थालिएको हो ।

 

बैकुण्ठधाम निर्माणका लागि समितिले सिधनीयाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि बैना दिइसकेको छ । प्रतिकठ्ठा आठ लाखको दरले चार जना जग्गाधनीलाई बैना रकम दिइएको हो । थप १९ कठ्ठा जग्गा खरिद गर्ने समितिको योजना रहेकोछ।

 

बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएकोछ ।

 

वाचन शिरोमणी पण्डित पाखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा २० करोड रकम संकलन हुने उद्घोष गरे । महायज्ञमा प्रवचनसँगै शािलकरामको दर्शन, ब्रतबन्ध, विवाह, चौरासीपूजा, रुद्री, ग्रहशान्ति गरिनेछ ।

 

समितिका अध्यक्ष डाक्टर सुरेशकुमार कनोडिया, उपाध्यक्ष भोला महत, सचिव विकास आचार्य, सहसचिव उमा थापामगर चन्द, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सदस्यहरु डा. बद्री चापागाई, डाक्टर किर्तिपाल सुवेदी, श्रीराम सिग्देलले सबैले अपनत्व लिने गरि काम अघि बढाएको बताए ।

 

यसैबीच, वाचन शिरोमणी दिनबन्धु पोखरेल लगायतको टिमले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दि स्थित सिधनिया घाटमा निर्माण हुने बैकुण्ठधामको स्थलगत अनुगमन गरेकाछन्

प्रकाशित मितिः     २७ श्रावण २०८१, आईतवार २०:१७  |