नेपालगन्जका प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईकाे निधन


नेपालगन्ज । प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईकाे निधन भएको छ । काठमाडौंकाे एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका काेषाध्यक्ष मख्खन धामीले जानकारी दिए ।

प्रसाई नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष,पुर्व केन्द्रीय सदस्य समेत हुन । नेपालगन्जमा राजनीति र सामाजिक कार्यमा समेत उतिकै सक्रिय प्रसाईकाे निधनले स्तब्ध बनाएको काेषाध्यक्ष धामीले बताए ।

बौद्धिक व्यक्तित्व प्रसाई उद्योग वाणिज्य संघको राजनीतिका क्षेत्रमा चर्चित नाम हो । प्रसाई २०५२ सालबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रिय थिए ।

संघमा मनोनित भएपछि उनी लगायतले संघको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हटाउने काम भएको थियो । यद्यप प्रयास असफल भयो । कर्मचारीको अवस्था बेहाल थियो । तलव अति कम भएपछि तलब बृद्धि गर्ने काम भएको थियो, त्यसबेला । संघको भौतिक संरचना राम्रो थिएन ।

बिधान पनि एक पन्ने थियो । त्यसलाई संशोधन गर्ने काम भयो । निर्वाचन गराउन दबाब दिइयो । २०५३ सालमा निर्वाचन भयो । तत्कालिन उपाध्यक्ष बिजयमान पति र प्रसाईबीच प्रतिस्पर्धा भयो । १५ जना कार्यसमितिमा १२ जना प्रसाई पक्षका बिजयी भए । निर्वाचन जिते पनि उनी सामु धेरै चुनौती थिए । ती चुनौती पार गर्ने काम उनले गरे ।

त्यसबेला उद्योगी, व्यवसायीहरुलाई हेर्ने प्रहरीको नजर गलत थियो । दुहुनो गाई बनाउने चलन थियो । त्यसलाई रोक्न उनले निकै ठुलो मेहेनत गर्नुपरेको थियो । गुण्डाहरुको सताउने काम त्यस्तै थियो । यि सबै कुरा समाधान गरे उनले । एउटा कोठाबाट सुरु भएको संघको कार्यालय तीन तले भवन निर्माण भयो । संघले बिधान पायो भने भौतिक संरचना सम्पन्न भयो ।

यसका साथै पहिलो पटक उनी नै नेपाल उद्योग वाणिज्य महासंघमा सहभागि भए । पहिलो पटक प्रसाई केन्द्रीय सदस्य भएपछि अहिलेसम्म त्यो कार्यले निरन्तरता पाएको छ । हरेक वर्ष नेपालगन्ज उद्योग वाणिज्य संघबाट केन्द्रमा प्रतिनिधित्व हुन्छ । उनकै कार्यकालमा माइन जर्मनी कार्यक्रम सन्चालन भयो । ३ सय सदस्य रहेको संघलाई उनकै कार्यकालमा १८ सय सदस्यको धनी बनाइएको थियो ।

प्रकाशित मितिः     २८ श्रावण २०८१, सोमबार ११:२१  |