नेपालगन्ज औद्योगिक क्षेत्रमा ८ सयलाई राेजगारी


नेपालगन्ज । नेपालगंज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानले ८ सय जनालाई रोजगारी दिएका छन् ।

३४ ओटा उद्योग सञ्चालित औद्योगिक क्षेत्रमा रोजगारी पाउनेमा अधिकांश पुरुष रहेको र महिलाको संख्या अति नै न्यून रहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
२०३० मा २३३ रोपनीमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग निर्माणको प्रक्रियामा छ भने एउटा बन्द अवस्थामा छ ।

औद्योगिक क्षेत्रमा मात्र नभई बाँकेका अधिकांश उद्योगमा महिला कामदारको संख्या न्यून छ । औद्योगिक क्षेत्रमा रहेको गणपति प्लास्टिक उद्योगका सञ्चालिका दिला शाहले महिलामाथि सदियौंदेखि हुँदै आएको भेदभावको प्रभाव निजीक्षेत्रमा पनि परेको बताइन् ।

‘महिलाले के नै गर्न सक्छन् र भन्ने सोचमै समाजमा छ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा मात्र होइन, देशभरको निजीक्षेत्रमा यस्तै समस्या छ,’ शाहले भनिन्, ‘अब विस्तारै महिलाहरू शीपयुक्त भएर उद्योग क्षेत्रमा आइरहनुभएको छ ।’ राज्यले महिलालाई शीपयुक्त बनाउन सके निजीक्षेत्रले रोजगारी दिन कन्जुस्याइँ नगर्ने उनले बताइन् । नेपालगञ्जमा भारतीय कामदारको वर्चस्व हुने गरेको छ ।

उद्योगबाट रोजगारी सृजना भएको संख्या धेरै देखिए पनि वास्तविकता भने फरक छ । थोरै मात्र नेपालीले रोजगारी पाउने गर्छन् । प्राविधिक शीपको अभाव देखाउँदै नेपालीले काम पाउँदैनन् ।

पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका विभिन्न भाँडाहरू, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइऊड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन गर्ने उद्योग सञ्चालित छन् । औद्योगिक क्षेत्रभित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने भेरी प्राविधिक शिक्षालयसमेत सञ्चालनमा छ ।

प्रकाशित मितिः     ३१ श्रावण २०८१, बिहीबार ०७:१६  |