१० कराेडमा बनेकाे सेन्थेटिक ट्रयाक बर्षदिनमै उप्कियाे


 

नेपालगन्ज १ भदाै । नेपालगन्ज रंगशालामा रु १० कराेड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको छ ।

ललितपुरकाे पंचकन्या/साईकट्स निर्माण कम्पनीले रु ९ कराेड ८६ लाख लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर भइरहेको काममा गम्भीर लापरबाही देखिएको हो ।

हाल निर्माणकाे काम सम्पन्न भइसकेपनि हस्तान्तरण भएको छैन हस्तान्तरण हुने एक बर्षकाे अवधिमै सेन्थेटिक ट्रयाक प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रमुख महेश चन्दले बताए । हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किए पछि त्यस सम्बन्धमा आवश्यक छानिबन गर्न राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको चन्द बताउँछन् ।

शुरु देखि नै निर्माण कार्यमा गुणस्तर नभएको भन्दै प्रश्न उठेकाे थियाे । प्रश्न उठ्दा कसैले पनि काम राेक्न तत्परता देखाएका थिएनन् । गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराइसकेका जिल्लास्थित खेल पदाधिकारीहरुले यस्तै रहे निर्माणकार्य रोक्ने चेतावनी दिएका थिए ।

जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले शुरुकै दिनमा खेलपूर्वाधारमा भइरहेको  लापरबाहीलाई नजरअन्दाज गर्न नसिकने भन्दै गुणस्तरका बिषयमा आवाज उठाएका थिए । आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला निर्माणमा अधुरो रहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकका लागि तत्कालिन खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा बजेट विनियोजन गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरेको सेन्थेटिक ट्रयाकको निर्माण कार्य सुस्त गतिमा भइनै रह्याे तर दवाव पछि निर्माण कम्पनीले काम शुरु गरे पनि गुणस्तरमा सम्झौता गरेकाे आशंका गरिएको छ ।

आठौंमा नेपालगन्जमा निर्माण गरिने भनिएको ट्रयाक दाङ बेलझुण्डी लगिएको भन्दै आलोचना भएको थियो । । सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल बेलझुण्डीमा भएका हुन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसैबेला नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना निर्माण गरिएको हो ।

तर, तीनको उपयोग हुन नसकेको भन्दै चिन्ता गरिएको छ । ठूलो मिहिनेतका साथ बनेकाे सेन्थेटिक ट्रयाक प्राेजेक्ट हस्तान्तरण नहुँदै उप्किएकाले राखेपका बिज्ञले छानबिन गरेर ठेकेदार कम्पनीलाई सुधार गर्न दिनुकाे बिकल्प नहुने प्रमुख चन्द बताउँछन् ।

प्रकाशित मितिः     १ भाद्र २०८१, शनिबार ०६:२९  |