एचआईभी संक्रमित बालिका माथि बिभेद


– राप्तीसाेनारी गाउँपालिका बालापुरस्थित एक बिद्यालयमा कक्षा एकमा पढ्ने  विद्यार्थी एचआईभी भएको थाहा पाएर अन्य अभिभावकले  आफ्ना बालबालिकालाई बिद्यालय नै नपढाए पछि हप्तादिन देखि कक्षा संचालनमै कठिनाई उत्पन्न भएको छ ।

 

नेपालगन्ज २ भदाै । बाँकेको राप्तीसाेनारी गाउँपालिका बालापुरस्थित एक बिद्यालयमा कक्षा एकमा पढ्ने एचआईभी संक्रमित बालिकाले (विद्यालय र बिद्यार्थीको नाम गाेप्य राखिएको) बिभेदकाे सामना गर्नुपरेकाे छ ।  विद्यार्थी एचआईभी भएको थाहा पाएर अन्य अभिभावकले  आफ्ना बालबालिकालाई बिद्यालय नै नपढाए पछि हप्तादिन देखि कक्षा संचालनमै कठिनाई उत्पन्न भएको छ ।

उक्त बिद्यालयमा कक्षा १ मा सत्र जना बालबालिका रहेकाेमा चौध जना बालबालिकाले एचआईभी संक्रमित बालिकाकाे बारेमा थाहा पाए पछि आफ्ना बालबालिकालाई बिद्यालय पढाउनै छाडेकाे पाइएको छ । एक हप्तादेखि सबै बालबालिकाले आफ्ना बालबालिका बिद्यालय पढाइरहेका छैनन्   ।  बिद्यालयका प्रअले मिसन टुडेसंगकाे टेलिफोन कुराकानीमा उक्त कुरा स्विकार गरेका छन्   ।

‘म बाहिर भएको बेला अभिभावकहरुको तर्फबाट याे बिषयमा संशय व्यक्त गर्नुभएको थाहा पाए । अहिले अभिभावकसंग छलफल गरेर उहाँहरुको सशंय मेटाउने काममा लागेकाे छु ।’ विद्यालयका प्रअले बिद्यालयकाे तर्फबाट अभिभावकहरुसंग छलफल गरि समस्या समाधानकाे पहल भइरहेकाे बताएका  छन् । उनका अनुसार आइतबारसम्म समस्याकाे समाधान हुने अपेक्षा गरिएको छ ।

याे बिषयमा एचआईभी संक्रमितहरुको पक्षमा आवाज उठाउँदै आएको संस्थाहरुको ध्यानाकर्षण भएको  छ । जुनकीरी महिला समुहका कार्यक्रम अधिकृत रबिन्द्रसिंह राठाेर नेतृत्वको टिमले बिद्यालयमै पुगेर बास्तविकता अध्ययन गरि अभिभावकसंग छलफल गरेकाे छ । स्वास्थ्यकर्मी समेतकाे उपस्थितिमा भएको छलफलमा एचआईभी संक्रमित कुन अवस्थामा सर्छ र कुन अवस्थमा सर्दैन भनेर स्पष्ट पारेर उनिहरुमा रहेकाे संशय मेटाएर समस्या समाधान गर्ने काम भइरहेको राठाेरले बताएका छन् । आवश्यक परेकाे अवस्थामा चिकित्सककाे टाेलि समेत लगेर समस्या समाधान गरिने उनकाे भनाइ छ ।

राठाेरले आफ्ना बालबालिकाहरुलाई एउटै कक्षा कोठामा राखेर पढाए आफ्ना  बालबालिकालाई एचआईभी संक्रमण हुने अभिभावककाे बुझाइ रहेको छ । जुन गलत रहेकाे र अझै पनि सचेतनाको अभावले  भेदभावपूर्ण ब्यबहारको चरम सामाना गरिरहेको यो पछिल्लो  उदाहरण भएको राठाेर बताउँछन् ।

प्रकाशित मितिः     २ भाद्र २०८१, आईतवार ०६:४६  |