स्टार्टअप उद्यम कर्जा कुन-कुन क्षेत्रले कति पाउँछन् ?


 

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएसँगै उद्यम तथा परियोजनालाई धितो मानेर २५ लाखसम्म कर्जा उपलब्ध गराइने भएको छ। यस्तो कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध हुने मन्त्रालयले बताएको छ।

सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न गराउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ।सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालू आर्थिक वर्षको बजेटमार्फत १ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयन गर्नेछ। ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ मा स्टार्टअप उद्यमको योग्यता निर्धारण गरिएको छ। कार्यविधिबमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्नेछ।

उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, प्रचलित कानुनबमोजिम उद्योगका रूपमा दर्ता नभएको, वस्तु तथा सेवा विदेशबाट आयात गरी बिक्रीवितरण गर्ने गरेको, कालोसूचीमा परेको तथा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीका रूपमा दर्ता भएको उद्यमलाई भने स्टार्टअप कर्जाका लागि योग्य मानिने छैन ।

मन्त्रालयका अनुसार कार्यविधिबमोजिम स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ। कर्जा लिन चाहने योग्यता पुगेका उद्यमीले तोकिएको ढाँचामा प्रतिष्ठानमा प्रस्ताव पेस गर्नुपर्नेछ।

एक उद्यमीले एक बढी प्रस्ताव पेस गर्न पाउने छैनन्। प्राप्त प्रस्तावको मूल्यांकन समितिले कार्यविधिमा उल्लेख भएका मापदण्डबमोजिम मूल्यांकन गर्ने, प्रस्तावको छनोट तथा प्रस्तावकले प्राप्त गर्ने कर्जा रकम समेत निर्धारण गरी सिफारिस गर्नेछ।

छनोट समितिले सिफारिस गर्दा कर्जा रकमसमेत निर्धारण गर्नेछ। छानिएका उद्यमीले न्यूनतम ५ देखि अधिकतम २५ लाख रुपैयाँसम्म ३ प्रतिशत ब्याजदरमा पाँच वर्षसम्म कर्जा पाउने कार्यविधिमा उल्लेख छ।

स्टार्टअप उद्यमका १९ क्षेत्र
कृषि, सिँचाइ तथा पशुपक्षीमा आधारित उद्यम
उत्पादनमूलक उद्यम
वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम;
पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम
विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम
मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम
शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम,
सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यम;
पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम;
विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम
परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम
स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम
सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम
खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम
घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम
वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम
परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम
खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम
फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम

प्रकाशित मितिः     ५ भाद्र २०८१, बुधबार ११:११  |