आदर्श बिर्सिएका नेता,आक्रोशमा जनता


 

नेतृत्वका आदर्शका कुराले मात्रै जनताले अब मान्ने अवस्था  छैन  ।  जनताले  युगानुसारको तिब्र परिणाम खोज्दै छ। यहि जनताको तिब्र चाहाना नबुझ्दा या बुझेर पनि शिर्ष नेतृत्वले बुझ पचाउँदा  नेपाली जनजीवनमा सामाजिक विस्फोटहरू उत्पन्न हुने सम्भावना दिनप्रतिदिन बढदै आएको घटनाक्रमले देखाउँदै आएको  छ ।

जनतामा सर्बत्र निराशाका कालाबादलहरु लामो समय देखि मडारी रहेका छ्न । नागरिकमा धैर्यताको बांध टुटने अवस्थामा पुग्दै छ । समाजको हरेक तहमा देशका  नेतृत्वकर्ताका क्रियाकलापबाट जनता वाक्क दिक्क भएको चित्र देखिन्छ ।

जनता र यो मुलुकको कायापलटका लागि केहि गरौ भन्ने भिजन सहित आएका युवा नेतृत्वलाई पनि त्यही पुरातनवादी चिन्तनले ग्रस्त नेतृत्वको छायाले सत्ता र शक्तिको बलमा  ओझेल पारिदा नयाँ युगका नयाँ युवाहरुको मनोबिज्ञान समकालीन नेतृत्वहरु प्रति अबिश्वासी र अझ  उदेकलाग्दो देखिन्छ । हिजोसम्म भगवान् झै लाग्ने शिर्ष नेतृत्व प्रती जनताले घृणा गर्न थालेका छ्न । उदाहरण नै उदाहरण मध्य पछिल्लो टुंडिखेल  गौरापर्बको भब्य कार्यक्रममा देशको प्रधानमन्त्री र पुर्ब प्रधानमन्त्री प्रती जनताले पोखेको आबेगपुर्ण आक्रोशबाट पनि जनताको मनोबिज्ञान कता जांदैछ भन्ने बुझन सकिन्छ ।

तर सो घटनालाई राम्रो भन्न सकिदैन तर नेतृत्वकर्ताले जनताका चाहानालाई लामोसमय देखि नजरअन्दाज गर्दाको परिणामबाट  यस्ता अप्रिय घटनाको जन्म  हुन्छ भन्ने कुरालाई पनि नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि र स्वयं नेतृत्वका लागी  हितकर होईन । हामीले स्विकार्नु पर्छ  यतिबेला समाजको हरेक तहमा जताततै उकुसमुकुस छ। यो जटिल अवस्थाको फाइदा उठाउने तत्वलाई शिर्ष नेतृत्वका कार्यब्यवहारबाटै मलजल भएका छ्न ।

देश र जनताको जिवस्तर जतिसुकै ओरालो लागेर भिरबाट खस्न थाले पनि  अनेकौं अनेक हतकण्डा अपनाएरै भएपनि जीवन रहुन्जेल सत्ता र शक्तिको सांचो आफनै खल्तीमा राख्ने हरेक पार्टीका शिर्ष नेतृत्वहरुको  निरंकुश ब्यक्तिवादी चिन्तनले लोकतान्त्रिक गणतन्त्र समेत दिनदिनै बदनाम हुँदै आएको छ । नेतृत्वको जीवनस्तर दिन दुगुणा रात चौगुणाको हिसाबले परिवर्तन हुँदै जाने तर ती नेताले शासन गरेका जनताको जीवन स्तर अत्यन्तै कहालीलाग्दो अवस्थामा पुग्नुलाई अवश्य पनि लोकतन्त्र भन्निदैन यस्तो त दलाल पुँजीवादीतन्त्र भएन र ?

राजनीतिक स्वतन्त्रता मात्रै  लोकतन्त्र होईन ।   जनताको जीवनस्तर र देशको द्रुतगतिमा प्रगति लोकतान्त्रिक गणतन्त्रको अभिन्न सर्त हो । यहि सर्तका आधाशिलामा टेकेर मुलुकका मुख्य पार्टीहरुले बेला बेलामा ठुला ठुला आन्दोलन गरेका हुन भन्ने कुरालाई समकालिन नेतृत्वहरुले सत्ता र शक्तिको मात लागेर भुलिदिदा लोकतन्त्र कतै भंगालोमा पर्ने त होईन भन्ने चिन्ता यत्र तत्र सर्बत्र जाग्न थालेको स्थिती लाई अब ढाकछोप गरेर लुकाउन खोज्नु  मुर्खता शिवाय अरु केही हुन सक्दैन ।

समकालीन नेतृत्वहरुले नेतृत्व हस्तान्तरण गर्न पनि नसक्ने र जनताको चाहाना लाई बुझन पनि नसक्ने यहीँ अवस्था रहिरहने हो भने धमिलो पानिमा माछा मार्ने तत्वले भरपुर फाइदा उठाउदै आक्रोशित जनता जगाउन सक्दैनन् भन्ने आधार छैन ।  यस्तो अप्रिय अवस्था आयको खण्डमा सत्ता र शक्तिका लागि जस्तोसुकै अवस्था आयपनी जस्तासुकै सम्झौता गर्न खप्पिस हाम्रा दु:शित चिन्तनले ग्रस्त शिर्ष नेतृत्वहरुको स्थिति बंगलादेशकि शक्तिशाली शासक सेख हसिनाको झैँ नहोला भन्न सकिदैन ।

अत: छोटा बढा सबै नेतृत्वकर्ताले समय छदै सच्चिनेकि सक्किने भन्ने कुरालाई अत्यन्त गम्भीरताका साथ मनन गर्दै जनताका मनोबैज्ञान लाई इमानदारीका साथ  समयमै  आत्मसात गर्दै  लोकतान्त्रिक पद्धति लाई सांच्चिकै जनबिश्वासिलो शासन बनाउन  सक्किने होईन सच्चिनका लागि अझ बढी गम्भीर हुन जरुरी छ ।  जय होस

प्रकाशित मितिः     १३ भाद्र २०८१, बिहीबार २०:२८  |