सरकार ! दूधकाे पैसा कहिले पाइन्छ ?


 

नेपालगन्ज । दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको हो ।

नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीका अनुसार गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गर्नु भएको छ । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।
दुध उत्पादन बढ्दै गएपनि बजारीकरणको समस्या किसानले भोग्नु परेको छ । असोज महिनादेखि चैत सम्म दैनिक आठ हजार लिटर दुध संकन हुने गरेको छ । असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दुध उत्पादन बढेपनि बजारीकरण गर्न समस्या हुदा मिल्क होलिडेको मारमा किसान छन् । तर, बैशाख देखी भदौ महिना सम्म दुध संकलन भने ह्वात्तै घट्ने हुदा दुधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ ।

बैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन हुदै आएको छ । यस्तै सुर्खेतको छिन्छु दुध चिस्या केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुदै आएको हो ।

एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रिवितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रसोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुदै आएको आयोजना कार्यालयले जनाएको छ । दुधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।

 

प्रकाशित मितिः     १४ भाद्र २०८१, शुक्रबार ०७:४४  |