नेपालगन्ज । बाँकेकाे कम्दि यस्ताे क्षेत्र हाे जहाँका किसानले दैनिक पाँच हजार लिटर दूध उत्पादन र बिक्री गर्छन् । यहाँको कम्दि,बालापुर,हलकारापुर,सिधिनिया गाउँमा भैसिपालन नगर्ने किसान नै भेटिदैनन् भन्दा फरक पर्दैन ।
हरेकका घरमा कम्तीमा एउटा देखि धेरैमा सयकाे हाराहारीमा भैसिपालन भईरहेकाे देशकै उत्कृष्ट भैसिपालक किसानका रूपमा सम्मानित भईसकेका रामसुहावन यादवले बताउनुभयाे । उहाँका अनुसार,दर्जन परिवार त यस्ता छन् जसकाे गाेठमा सय हाराहारी भैंसी पालिएको छ ।
स्थानीय र कतिपय उन्नत जातका भैसिपालन गर्ने यहाँका किसानकाे मुख्य आयस्रोत दुधकाे बिक्रि नै हो । परम्परागतरूपमा भैसिपालन हुँदै आएको यी ठाउँमा बिहानैदेखि दूध दुने र बेच्नेकाे चहपलह हुन्छ । साईकल र गाडिमा दुधका क्यान राखेर बजारसम्म लैजादै गरेका दृश्य अवेर साँझसम्म देख्न पाईन्छ । पशुपालन के हाे भन्ने हेर्न यहाँ आए पुग्छ ।
यतिका भैसिपालनका लागि गाउँछेउकै राप्ती नदि बरदान सावित भएको छ । स्थानीयले दिनभर राप्ती नदि र त्यसकाे वरपर भैंसी चराउन लैजानुहुन्छ । दिनमा त्याे क्षेत्रमा जाने हाे भने हुलकाहुल भैंसी काेहि नदिमा आहल बसिरहेका देख्न पाईन्छ भने काेहि चाैरमा चरण गरिरहेका भेटिन्छन् ।
यसरी ठुलो मात्रा भैसिपालन गरिरहेका किसानले अनेक आरोहअवराेह झेलिरहेका छन् । दुख गरेर उत्पादन गरेकाे दुधकाे पैसा समयमै नपाउँदा नैराश्यता झेलिरहेका छन् भने धेरै दूध उत्पादन हुँदा बिक्रि नभए हैरान हुनुपर्ने अवस्था पनि छ ।