नेपालगन्ज । नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी (वान–वे) गराइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन अघि सम्पन्न बैठकले उक्त सडकलाई एकतर्फी गराउने निर्णय गरेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुस्कर पन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको निर्णयसँगै अहिले कार्यान्वयनमा ल्याइएको बताए। ‘हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन्,’ उनले भने।
सडकमा एकतर्फी सवारी साधन चलाउने गरी ट्राफिक चिन्ह लगायत निर्माण गर्ने काम भइरहेको नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख सुर्यबहादुर बोगटीले बताए।
उनका अनुसार सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन्। तर चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन। ‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने व्यवस्था मिलाइएको छ,’ नगर प्रहरी प्रमुख बोगटीले भने।