पश्चिमकाे पहिलो विकास बैंक कसरी भयाे ‘समस्यान्मुख’ ?


नेपालगन्ज । पश्चिम नेपालकाे पहिलाे विकास बैंक नेपालगन्जस्थित कर्णाली विकास बैंकलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाएपछि बैंक तथा बित्तीय क्षेत्रमा नयाँ तरङ्ग फैलिएको छ ।

राष्ट्र बैंकको निरीक्षणमा तोकिएको पूँजीकोष अनुपात कायम नगरेको र निष्क्रिय कर्जा (NPL) अनुपात ४०.८५ प्रतिशत पुगेको देखिएपछि यस्तो निर्णय गरिएको हाे ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ:
“संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने उद्देश्यले सो संस्थालाई आजैका मितिबाट लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ खाता खोल्न र कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको जानकारी गराइन्छ।”

राष्ट्र बैंकको याे कारबाहीलाई संचारमाध्यमले आफुअनुकुल व्याख्या गरेकाे भन्दै कर्णाली विकास बैंकले आफ्नो बचाउमा धारणा सार्वजनिक गरेकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ निरज बिक्रम शाहले प्रेषित गरेकाे बिज्ञप्तिमा नेपाल राष्ट्र बैंकवाट आधिकारिक वेबसाइटमा यस संस्थाका सम्बन्धमा प्रकाशित सुचनालाई केही अनलाइन माध्यमबाट फरक-फरक दृष्टिकोणले तोड मरोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेकाले यस्ता गलत, तथ्यहीन र असन्तुलित समाचारको भ्रममा नपर्न ग्राहक, शुभ चिन्तक र आम जनतामा सादर आग्रह गरिएको छ ।

तर राष्ट्र बैंकको तहबाट याे हदसम्मकाे कारबाही गर्नुपर्ने परिस्थिति किन सिर्जना भयाे भन्ने कुरा बैंककाे बिज्ञप्तिमै प्रष्ट पारिएको छ । राष्ट्र बैंकले याे बिषयमा अध्ययन र छानवीन गरेर नयाँ तथ्य फेला पार्ला नै तर बैंकले नेपाल लगायत विश्वभरी फैलिएको कोभिड १९ महामारीको पहिलो तथा दोस्रो लहर र महामारी पछिको असरका कारण सृजित आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल भएका कारण देश भरीका बैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको दुखेसाे पाेखेकाे छ।

बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दा समेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवान्छित कार्य गर्ने समुहको अवरोध आदिका कारण केही कर्जा असुली हुन नसकेकोले निष्कृय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तिय संस्थाको शिघ्र सुधारात्मक कार्यवाही गरिएको बैंकले स्विकारेकाे छ । निष्कृय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सिमा भित्र रही कारोवार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको र बैंकको कारोबारमा रोक नलगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैंकिङ्ग कारोबार भई रहेको भनिएको छ । तर राष्ट्र बैंकले स्पष्टरुप कर्जा लगानी र निक्षेप संकलनमा राेक लगाइसकेकाे छ ।

बैंकका सिइओ शाहले सार्वजनिक गरेकाे प्रेस नाेटमा नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पुँजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ प्रतिशत ऋणात्मक मा झारेको उल्लेख छ । जस अनुसार प्राथमिक पूँजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको छ। त्यस्तै, आर्थिक बर्ष २०७९/८० देखि २०८०/८१ मा बैंकले निष्कृय कर्जा क्रमशः ५९.३९ प्रतिशत बाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१ २२ प्रतिशतले हासिल गरेको हो। कर्जा निक्षेप अनुपात (CD Ratio) आर्थिक वर्ष २०७९/८० मा ६६.१३ प्रतिशत रहेको मा २०८०/८१ म ५५.०२ प्रतिशत मात्र रहेको छ । तरल सम्पत्ति/कुल निक्षेप अनुपात आर्थिक वर्ष २०७९/८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८०/८१ म ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षमा उच्च प्राथमिकता रहेको दावी गरिएको छ ।

हाल आर्थिक गतिविधिमा सुधार आए संगै २०८१ आषाढ मसान्त सम्ममा निष्कृय वर्गमा रहेका कर्जाहरु २०८१ को असोज मसान्त सम्ममा असुल उपर भै निष्कृय कर्जा २९.४९ प्रतिशत कायम राख्न सफल भैसकेको बैंककाे भनाइ छ । अन्य निष्कृय कर्जाहरु केही निकट भविष्यमा नै असुल उपर हुने प्रक्रियामा रहेको हुदा छोटो अवधिमा नै सुधार गरी कारवाही फुकुवा प्रक्रियामा आशा व्यक्त गरिएको छ ।

उक्त कारवाहीले बैंकका ग्राहकहरुको नियमित बैंकिङ्ग काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोवार गर्न सक्ने र बैंकको सिडि रेसियो समेत कम्फर्टेबल रहेको हुदा भुक्तानीमा कुनै समस्या नरहेको सिइओ शाहले बताए ।

राष्ट्र बैंककाे कारबाहीमा परेकाे याे बैंक २०६० फागुनमा स्थापना भएको हाे । याे साविककाे मध्य तथा सुदुरपश्चिमकाे पहिलाे विकास बैंक हाे । यसकाे बाँके कोहलपुर, खजुरा, शम्शेरगन्ज, बैजापुर। बर्दिया बाँसगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर । दाङ्ग : तुल्सीपुर, विजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा, सिसहनियामा शाखा छन् ।

प्रकाशित मितिः     १६ मंसिर २०८१, आईतवार ०८:११  |