‘घुम्न जाउँ बर्दिया’अभियान


बर्दिया, ४ पुस। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले आजबाट ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्दैछ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्दैहुनुहुन्छ । मुख्यमन्त्री आचार्य अहिले बर्दियामा हुनुहुन्छ ।

उहाँले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेका गोही प्रजनन केन्द्र, बाघ–गैडा उद्धार केन्द्र, हात्तिसारको बिहिवार विहान अवलोकन गर्नु भएको छ । पर्यटन लुम्बिनी प्रदेशको समृद्धि र विकासको आधार रहेको भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी पर्यटन सर्किटको अवधारणा अघि सार्दै आउनु भएको छ ।

बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्य सहित प्रदेश सरकारले घुम्न जाऊँ बर्दिया अभियान सुरु गर्न थालेको हो । बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको हो ।

घुम्न जाउँ बर्दिया एक बर्षे अभियान हो । बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धीत पक्षसंग समन्वय गरिने छ ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत प्रदेश सरकारका मन्त्री, सांसद तथा पर्यटन व्यवसायी, नीजि क्षेत्रका प्रतिनिधिहरु बर्दिया पुग्नु भएको छ ।

प्रकाशित मितिः     ४ पुष २०८१, बिहीबार ०९:३५  |