घरायसी सामानका नाममा हुने तस्करी राेक्दा सशस्त्रले झेल्नुपरेकाे अपजस


नेपालगन्ज । नेपालगन्ज नाकामा छ महिना अघि एक जना महिलाले चामल ल्याउँदै थिइन । सशस्त्र प्रहरीले चाैलिकाचाेकमा उनलाई  राेक्याे । सामान नियन्त्रण गर्ने क्रममा ती महिलासंग सशस्त्र प्रहरीको तानातान भयाे । त्यसरी महिलासंग सशस्त्र प्रहरीको तानातान भएको भिडियो कसैले खिचेर सामाजिक संजालमा हालिदियाे र भाइरल भयाे ।

‘हेर्नुस गरिब माथि सशस्त्र प्रहरीको अत्याचार’,‘ठूला तस्कर छाड्ने,सानालाई यसरी अन्याय गर्ने’ भन्दै सशस्त्र प्रहरी माथि प्रश्न उठाइयाे । बिषयले कति ठुलो रुप लियाे भने सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले संसदीय समितिमा जवाफ नै दिनुपर्याे ।

त्यहाँ सांसदले साेधेकाे जवाफ फर्काउँदै अर्यालले भने,‘बाहिरी आँखाले हेर्दा त एउटा महिलालाई लछारपछार गरेकाे देखिन्छ तर बास्तविकता घरायसी सामान भित्र अर्कै सामान ल्याइएका कारण त्यसलाई नियन्त्रणमा लिइयाे हाे । यस्ताे छ अवस्था ।’ सशस्त्र प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा दिएको बयान अहिले पनि सामाजिक संजालमा हेर्न पाइन्छ ।

हेर्नुस भिडियो ….

 

सशस्त्र प्रहरीलाई बदनाम गराउने त्याे भाइरल भिडियोकाे बास्तविकता अर्कै थियो । सशस्त्र प्रहरी स्रोतका अनुसार त्याे घरायसी सामान भित्र माेवाइलका सामान थिए । पछि त्याे सार्वजनिक भए पछि सशस्त्र प्रहरी बदनाम हुनबाट जाेगियाे ।

सीमा सुरक्षा र चाेरीपैठारी नियन्त्रणकाे जिम्मा पाएको सशस्त्र प्रहरी प्रश्न रहित छैन ।  तर पछिल्लो समय घरायसी सामानका नाममा हुने तस्करी नियन्त्रण गर्दा अनेक अपजस व्यहाेर्नु परिरहेकाे छ । सीमामा खटिएका सुरक्षा अधिकारी भन्छन्,-‘बाहिर चामल र साग राखेर भित्र महंगाे सामान ल्याउने गरिएको छ,त्याे पनि मुख्य नाकाबाटै । त्यसलाई नियन्त्रण गर्दा ठूला तस्कर छाड्ने घरकाे सामान ल्याउनेलाई दु:ख दिने भनिन्छ ।’

ती अधिकारीकाे दुख के छ भने घरायसी प्रयाेजनका लागि सामान ल्याउँदा सशस्त्र प्रहरीले ब्यवहारिकता मानेर ल्याउन दिएकै हुन्छ तर त्यसका नाममा हुने तस्करी भने नियन्त्रण गरिन्छ । ‘हामीले पनि सुचना संकलन गर्छाै । कस्ले घरका लागि सामान ल्यायाे र कस्ले तस्करी गर्छ थाहा पाएकै हुन्छौं । तर त्यस्तालाई राेक्दा घरकाे सामान ल्याउनेलाई अत्याचार गर्ने भन्नू उचित हाेइन । ’

हेर्नुस भिडियो …

गत फागुनयता सशस्त्र प्रहरीले बाँकेकाे सीमाक्षेत्रबाट रु १० कराेड मूल्य बराबरकाे तस्करीकाे सामाग्री बरामद गरेकाे छ ।

यतिका मुल्यकाे सामाग्री घरायसी प्रयोजनका लागि होइन बेच्न उदेश्यले भित्र्याएको हो ।  जुन गाेदाम र बजारसम्म पुग्न नपाउँदै सशस्त्र प्रहरीले बरामद गरि नेपालगन्ज भंसार कार्यालयमा दाखिला गरेकाे सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति बिमल डाँगीले जानकारी दिए ।

डाँगीले गत फागुन महिनामा यहाँको कमाण्ड सम्हालेका थिए । त्यसयता सबैभन्दा धेरै १ कराेड ३३ लाख मुल्य बराबरकाे सामाग्री अषाढ र कम मंसिर महिनामा ५३ लाख बराबरकाे सामाग्री बरामद गरेकाे हाे ।

नेपाल भारत नाकाबाट लाखौंका मालसामान राजस्व छलेर नेपाल सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा राजस्व छलेर नेपाल भित्रिएका सामान बरामद गर्न थालेकाे हाे ।

 

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी  डाँगीले प्रहरी सक्रियता बढेकै कारण धेरै सामान बरामद गर्न सफल भएको जनाउँदै तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष  चिरञ्जीवी ओलीले सो नियम राम्रो भएकोले कडाइका साथ लागु गर्नुपर्ने माग गर्दै तस्करी र अवैध आयात पनि कडाइका साथ रोक्नुपर्ने बताउँछन् । उनले सीमापारिबाट हुने तस्करीले गर्दा नेपालगञ्जको व्यापार व्यवसाय प्रभावित हुने जनाउँदै तस्करी नियन्त्रण आवश्यक रहेको उल्लेख गरे ।

अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उनको भनाइ छ । नेपालगन्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् । दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

प्रकाशित मितिः     ५ पुष २०८१, शुक्रबार ०९:२६  |