नेपालको संविधान अवधी भाषामा अनुवाद


 

नेपालगन्ज । पश्चिम तराई र मधेशमा बहुप्रचलनमा रहेको अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको हो ।

अवधी भाषामा प्रकाशित संविधानको प्रतिलाई काठमाडौंमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानून रेडियोकर्मी सन्तोष रेग्मीले प्रदान गर्नुभयो । सल्लाहकार रेग्मीले संविधान प्रकाशनबारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधीभाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधी भाषीलाई संविधान पढ्न आग्रह गर्नुभएको छ । सल्लाहकार रेग्मीका अनुसार सरकारले गर्ने काममा सहयोग गर्दै सँविधानलाई स्थानीयकरण गरेकोमा सचिव सापकोटाले खुशी व्यक्त गर्नुभयो ।

यसैबीच, प्रकाशित अवधी संविधानलाई भाषा आयोगमा पनि पठाइएको सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो ।

भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा सँविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन दिएको थियो । अनुसन्धान केन्द्रले अवधी संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ । आगामी दिनमा अन्य कानुनलाई पनि अनुवाद गरी प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।

प्रकाशित मितिः     १४ पुष २०८१, आईतवार १०:२२  |