नेपालगन्ज । विपी चोकको नेपालगन्ज मेडिकल कलेज अब भयो सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको छ । न्युनतम सेवासुविधाकाे माग गर्दै लामो समयदेखि कर्मचारी आन्दोलनमा उत्रिएकै बेला अचानक कलेजकाे नामाकरण फेरिएको छ ।
यो सँगै कलेजले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको पदमा रोजगारी माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ । कलेजले ४ सय जना नर्सका लागि रोजगारी खुला गरेको छ । कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको थियो । गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्राली सँग मर्ज भएको थियो । मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको थियो । यो कलेज मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालनमा ल्याएका हुन् । अर्यालले केही दिन अघि दाङमा रहेको ५ सय शय्याको अस्पताल सञ्चालनका लागि पनि ८ सय भन्दा बढी जनशक्ति माग गरेका थिए । अर्यालले नै दुई वटा कलेजमा गरेर १७ सय जनाभन्दा बढीलाई रोजगारी दिन लागेका हुन् ।
यता आन्दोलनरत कर्मचारीले याे कार्यप्रती असन्तुष्टि जनाएका छन् । उनिहरुले लेखेका छन्,-:
विगत २० दिनदेखि आन्दोलनरत रहेका नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारीहरलाई त्रसित बनाउन र आन्दोलन असफल बनाउने खेलमा व्यवस्थापन पक्षले रातारात सन्जिवनी मेडिकल साइन्सेस भन्ने बोर्ड लगाएको प्रति कर्मचारीहरु आक्रोशित भएका छन् ।
२५ औं वर्षदेखि कार्यरत रहेका कर्मचारीहरलाई व्यवस्थापन गर्नुको सट्टा थप उत्तेजित पार्ने कामको घोर भत्सर्ना गर्दछौं । दर्ता प्रक्रिया नभई, कर्मचारीहरलाई व्यवस्थापन नगरी विज्ञापन खुलाउने, बोर्ड लगाउने काम राम्रो होइन तत्काल यस विषयमा सरोकारवाला, प्रदेश सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।
#justice for NGMC stafffs #