नेपालगन्ज । एमाले नेतृत्वकाे कर्णाली प्रदेश सरकारमा कलह सुरू भएकाे छ । एमाले नेता यमलाल कंडेलले नेतृत्व गरिरहेकाे सरकारमा नेपाली कांग्रेसले चित्त दुखाउँदै सरकार छाड्ने सम्मकाे चेतावनी दिएकाे । तर एमालेका नेताले सरकार नढल्ने बताइरहेका छन् । दुबै दलका नेताहरु आरोपप्रत्यारोप उत्रिएका छन् ।
नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढासँग सत्ता साझेदार दल नेपाली कांग्रेस असन्तुष्ट बनेको हाे । ‘कैलाश गेटवे’ परियोजनालाई मन्त्री बुढाले रोक्न खोजेको भन्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाटै बाहिरिने चेतावनी दिएका हुन् ।
सोमबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शाहीले मन्त्री बुढाको कार्यशैलीप्रति प्रश्न उठाउँदै तत्काल मन्त्रीका बारेमा आवश्यक निर्णय नदिए सरकार छाड्ने चेतावनी दिए । संघीय सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई स्रोत सुनिश्चितता भइसकेको उक्त आयोजनालाई मन्त्री बुढाले रोक्न खोजेको भन्दै सरकारको विकल्प खोज्नुपर्ने अवस्थामा आइपुगेको शाहीले बताए ।
हुम्लामा संघीय सरकारको समपूरक अनुदानमा दुई वर्षदेखि अगाडि बढाउन खोजिएको आयोजनालाई मन्त्री बुढाले स्रोत सुनिश्चितताका नाममा रोक्न खोजेको आरोप शाहीको छ । ‘म यहाँ आइसकेपछि मेरो भाइ पनि हुन्, मैले आज भन्नुपर्ने हुन्छ, भौतिकमन्त्रीलाई, मैले चार/पाँचपटक फोन गरेँ, तर फोन उठेन,’ शाहीले भने, ‘जे भए पनि उसले सोच्यो होला जीवन शाही गइसक्यो आउँदैन, यसको किन फोन उठाउने भन्ने उसलाई पर्यो होला । मैले एउटा सुझाव दिन फोन गर्न खोजेको थिएँ । संघीय सरकारको समपूरक बजेटमा स्रोत सुनिश्चित चाहिँदैन भन्न खोजेको हो । तर, मन्त्रीले रेस्पोन्स नै नगर्ने विषयलाई मैले के रूपमा बुझ्ने ?’
याे बिषयमा प्रतिक्रीया दिदै नेकपा एमालेका नेता बिष्णु रिजालले मंगलबार फेसबुकमा लामै स्ट्याट्स लेखेका छन् । उनले कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका नेताले आफ्नै गठबन्धनको विपक्षीले भन्दा चर्को विरोध गरेर राजनीतिक सहकार्यको दरिद्रता देखाएको बताए । ‘यद्यपि, प्रदेशमा एमाले-कांग्रेसको गठबन्धन उहाँले बनाउनुभएको पनि होइन, भत्काउन सक्ने पनि होइन ।’-उनले भने ।
असमझदारी हुन सक्ने भनेरै प्रदेशस्तरमा पनि दुई दलबीच संयन्त्र बनेकाे र सबै कुरा बैठक राख्नुपर्ने रिजालले बताए । उनले चित्त नबुझेका कुरा त्यहाँ राख्न भनेका छन् । तर, सार्वजनिक खपतका लागि एउटा फोन नउठाएका कारण सरकार नै छाड्ने कुरा गर्नुले सोचाइको स्तर मापन गरेकाे रिजाल बताउँछन्