नेपालगन्ज । बाँकेमा ठूला उद्योगको संख्या एक सय सात पुगेकाे छ । यी उद्योगमा रु २२ अर्ब ८७ कराेड ९० लाख चुक्ता पुँजी रहेकाे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन अनुसार उद्योग विभागमा दर्ता भएका उद्योगमा ९ हजार १ सय ११ जनाले राेजगारी पाएका छन् ।
उद्योग विभागका अनुसार २०८१ को असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा रु.३ खर्ब २७ अर्थ ५७ करोडको लगानीमा जम्मा ७५६ वटा उद्योगहरु दर्ता भएका छन्। उक्त उद्योगहरुले जम्मा ६,०८० जनालाई रोजगारी समेत प्रदान गरेका छन्।
लुम्बिनी प्रदेशमा रहेका उद्योगहरुको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देही जिल्लाको ३८.६२ प्रतिशत र सबैभन्दा कम प्यूठान र रोल्पा जिल्लाको ०.४० प्रतिशत रहेको छ (तालिका ४.१) । यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६४ र नेपालगन्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योगहरु सञ्चालनमा रहेका छन् ।
बुटवल औद्योगिक क्षेत्रमा थप ४ वटा उद्योगहरु निमर्माणको क्रममा रहेका छन् भने ४ वटा वन्द अवस्थामा रहेका छन्। नेपालगञ्ज औद्योगिक क्षेत्रमा ५ वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन् । त्यसैगरी, रुपन्देही जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा हाल ११ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् भने २ बटा सञ्चालन हुने क्रममा छन्।
यस प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ।
लुम्बिनी प्रदेशमा औद्योगिक विकासमा बाँके अग्रणी मानिन्छ । यहाँका औद्योगिक उत्पादन साविक मध्य र सुदूरपश्चिमका २४ जिल्लाका साथै देशैभरि खपत हुन्छ ।
जिल्लामा २ वटा निर्माणाधीन र एउटा औद्योगिक क्षेत्र त सञ्चालनमै छ । औद्योगिक क्षेत्रभन्दा बाहिर पनि देशव्यापी रूपमा उत्पादन बिक्री गर्ने ठूला उद्योग पनि यहाँ सञ्चालनमा छन् ।
नेपालगञ्जऔद्योगिक क्षेत्र पञ्चायतकालदेखि सञ्चालनमा छ । २०३० सालदेखि १७ बिघा क्षेत्रफलमा नेपालगञ्जऔद्योगिक क्षेत्र सञ्चालन भइरहेको छ ।
नेपालगञ्जऔद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ३६ उद्योग छन् जहाँ तामा, पित्तल, काँस, प्लाष्टिक, प्लाइउडहरू उत्पादन हुन्छन् । जसको बजार देशैभरि छ ।
यो औद्योगिक क्षेत्रभन्दा धेरै गुणा ठूलो निर्माणाधीन नौवस्ता औद्योगिक क्षेत्र छ । २०७२ को चैतमा सरकारले नौबस्ता औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ फागुनमा यो औद्योगिक क्षेत्रको शिलन्यास गरेका हुन् । बैजनाथ गाउँपालिका ३ नौबस्तामा निर्माणाधीन औद्योगिक क्षेत्रमा तीन सय ३८ बिघा क्षेत्रफल छ । तर अहिलेसम्म त्याे पुर्वाधार बनेकाे छैन ।