समाजका विभिन्न मुद्दा, समस्या अथवा सामाजिक सुधारका क्रममा सक्रिय रुपमा सङ्लग्न, परोपकारी, जनताको प्रत्यक्ष सेवा गर्ने, समाजका गरिब र आर्थिक विपन्नताबाट गुजीरहेका व्यक्तिलाई सहयोग गर्ने र शिक्षा, स्वास्थ्य क्षेत्रमा निःस्वार्थ भावनाले काम गर्ने व्यक्तिलाई समाजसेवी भनिन्छ ।
यस्ता व्यक्तिहरूले समाजको हितका लागि मात्र काम गर्दछन् यस्तै व्यक्तिहरू मध्येका एक हुन कोहलपुरका हरिप्रसाद रावत उनको जन्म वि.सं.१९८८ माघ १० गतेका दिन माता कौशल्यादेवी रावत र पिता रत्नलाल रावतका जेष्ठ सुपुत्रका रूपमा भएको थियो । उनी सल्यान जिल्लामा पर्ने कालीमाटीको कोल्चे भन्ने ठाउँमा जन्मिएका थिए ।
बाल्यकालदेखि नै सेवा भावनाबाट उत्प्रेरित हुने स्वभाव भएका उनी सानै उमेरदेखि सामाजिक काममा अग्रसर हुन्थे । तत्कालिन समयमा गुरुकुल शिक्षा लिएका रावतले केही समय सरकारी सेवामा पनि काम गरे। वि.सं २०२३ मा जाजरकोट जिल्लामा भूमि सुधार अधिकारी भएर पनि काम गरे। जाजरकोटमा भूमि सुधार कार्यक्रम सफल बनाउन उनको ठुलो भूमिका रहेको थियो।
यसैगरी गाउँ पञ्चायतको प्रधान पञ्च हुँदै सुर्खेत जिल्ला पञ्चायतको दुई कार्यकाल सभापति भई शिक्षा, स्वास्थ्य, डोरेटो र घोरेटो बाटा घाटा, चोक चौतारी निर्माण गर्दै जिल्लाको समग्र विकासका निम्ति विकासका पूर्वाधार तयार गरी विकास निर्माण के हो ? भन्ने वारे समाजमा राम्रो सन्देस दिन सफल भए ।

वि.सं. २०२४ सालमा सुर्खेतबाट बाबुआमासँगै कोहलपुरमा बसाइ सरेका रावत जीवनको उर्जाशील युवा उमेर मात्र होइन वृद्धावस्था सम्म पनि कुनै न कुनै माध्यमबाट कोहलपुरको शैक्षिक र सामाजिक विकासमा सक्रिय रहिरहे यसै क्रममा कोहलपुर बासिका छोराछोरी र दुर्गम पहाडी जिल्लाहरूबाट बाहिरी जिल्लामा पढ्न आउने विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ ? भनेर चिन्तित रहेकै बेला वागेश्वरी बहुमुखी क्याम्पसलाई कोहलपुरमा स्थापना गर्न नेपालगन्जका बुद्धिजीवीहरू वेदनिधि शर्मा, चोलराज शर्मा लगायतका प्राध्यापकहरू र कोहलपुरका अन्य शैक्षिक व्यक्तित्वहरूसँगको सहकार्यमा रावतले तत्कालिन समयमा वागेश्वरी क्याम्पस स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनी दुई कार्यकालसम्म सोही क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भई क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका निम्ति उल्लेख्य भूमिका खेले ।
यसै क्रममा क्याम्पसलाई प्राविधिसँग जोड्न प्राविधिक भवन निर्माणार्थ उनकै नेतृत्त्वमा श्रीमद्भागवत महायज्ञ सम्पन्न भएको थियो । यसैगरी दुई कार्यकाल वि.व्य.स. अध्यक्षमा रही त्रि.मा.वि. को स्तरोन्नति, विकास तथा यहाँको सामाजिक, सांस्कृतिक जागरणमा पनि रावतले प्रशंसनीय काम गरे। कोहलपुरकै जेठो साझा सहकारी संस्थाको विकास तथा भौतिक संरचना निर्माण गर्ने काममा समेत रावतले २ पटकसम्म साविकको साझा सहकारी संस्थाको अध्यक्ष पदमा रही नेतृत्त्वदायी भूमिका खेलेका थिए ।
रावतले गरेका सामाजिक योगदानको कदर गर्दै विभिन्न समयमा उनी कदर-पत्र बाट सम्मानित पनि भए । वि.सं. २०२३ मा राजा महेन्द्रबाट कदर पत्र, वि.सं. २०३२ मा राजा वीरेन्द्रबाट राष्ट्रिय सेवा पदक, उपराष्ट्रपति नन्द बहादुर पुनबाट २०७४ मा सम्मान पत्र, त्यसैगरी नेपाल राष्ट्रिय पुस्तक तथा स्टेशनरी महासङ्घबाट नेपालगन्जमा रथारोहणसहित नगरपरिक्रमा र नागरिक अभिनन्दन, लायन्स क्लब अफ इन्टरनेसनलको राष्ट्रिय सम्मेलन पोखरामा नागरिक अभिनन्दन सहित सम्मान पत्रबाट सम्मानित भए त्यसैगरी उनी राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।
कोहलपुरको विकासमा अतुलनीय योगदान दिने हरिप्रसाद रावतको निधन वि.सं. २०७६ चैत्र २६ गतेका दिन ८९ वर्षको उमेरमा भयो। उनको निधनले सिङ्गो कोहलपुरलाई स्तब्ध बनायो । समाज सेवामा उनले दिएको योगदानले उनी कोहलपुर बासीको आँखामा सफल समाजसेवी तथा सामाजिक अभियन्ताको रूपमा अमर छन् र अमर रहिरहने छन्