
नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंककाे मुल गेटमा पैसा फिर्ता पाउने आसमा लाईन लागेका निक्षेपकर्ताकाे भिड/राेदन दैनिक सुन्न र देख्न सकिन्छ ।
चिसाे माैसममा बिहानदेखि साँझसम्म लाईन बसेका निक्षेपकर्तालाई हेर्ने हाे भने बित्तीय संकटले कस्ताे परिस्थिति सिर्जना गर्छ भने भेउ पाउन सकिन्छ ।
बैंकमा जम्मा गरेकाे बीस हजार बृद्धबत्ता फसेपछि बैजापुरका दिलबहादुर थारु बिहानै बैंक धाइरहेका भेटिए । आफ्नो पैसा फस्छ भन्ने चिन्ता उनलाई छ ।
बैदेशिक राेजगारीमा गएको छाेराले कमाएको पैसा बैंकमा फसेकाे घसरियनटाेलका एक बृद्धले सुनाइरहेका थिए । ठूला बचतकर्ता मुख खाेल्न सकिरहेका छैनन् साना बचतकर्ताकाे राेदन बैंककाे मुलगेटमा पाेखिन्छ ।

यता ब्यवस्थापन सम्हालिरहेकाे राष्ट्र बैंककाे टिमले पैसाकाे जाेहाे गर्दै निक्षेपकर्तालाई थाेरबहुद पैसा फिर्ता गरिरहेकाे छ । निश्चित रकम र निश्चित दिन ताेकेर पैसा फिर्ता गर्दै परिस्थिति सम्हाल्नुपर्ने बाध्यतामा छ राष्ट्र बैंक ब्यवस्थापन समूह ।
त्यसैले ब्यवस्थापन समितिले तरलताकाे जाेहाे गर्दै सबैकाे निक्षेप फिर्ता गर्दै जाने भएको हुँदा सबैलाई सकारात्मक सहयाेग गरिदिन आग्रह गरेकाे छ ।
पछिल्लोपटक सार्वजनिक सुचनामा संस्थामा क्रमशः निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भईरहेकोमा हाल तरलता व्यवस्थापनको कार्य भईरहेको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गर्ने गरी हाल मिति २०८१ १० १३ गते (आइतवार) देखि २०८१/१०/१५ गते (मंगलवार) सम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।