
बाँके । दस बर्षअघि शुरु गरिएको ‘मिसन मुसुरो’ कार्यक्रम हराएको छ । बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बाँकेमा मिसन मसुरो’ कार्यक्रम सञ्चालन गरिएको थियाे ।
नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा सञ्चालन गरिरहेको एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्र्तगत बाँकेमा मसुरो खेतीलाई छनौट गरिएको भए पनि उक्त कार्यक्रम हाल अलपत्र छ ।
सोही कार्यक्रम अन्र्तगत असार भित्रै बाँकेका मसुरो उत्पादक कृषकहरुलाई ग्रेडिङ्ग मेसिन र मसुरोको बिउ ५० प्रतिशत अनुदानमा बितरण गरिसकिएको थियाे । उक्त कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यान्वयन समितिका सदस्य सचिव नेपालगञ्ज उद्योग बाणिज्य संघ थियाे ।
सहकारी संस्था मार्फत कृषकहरुलाई ग्रेडिङ्ग मेसिन र मसुरोको बिउ बितरण समेत गरिसकेकाे कार्यक्रमप्रति अहिले कसैले अपनत्व लिएका छैनन् विशेषज्ञ तथा सरोकारवाला सबैको सहमतिबाट मसुरोलाई बाँके जिल्लाको उत्पादनको रुपमा अगाडी बढाउने निर्णय गरिएका थियो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, बिउ बिजन क्षेत्रीय कार्यालय लगायत कृषि सग सम्बन्धित कार्यालय प्रमुखहरुसंग उक्त कार्यक्रम लागु गर्ने बिषयमा बिगतमा बृहद छलफल भएको नेपालगञ्ज उद्योग बाणिज्य संघका तत्कालीन अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

छलफलमा बिज्ञले बंगलादेश निर्यातका लागि उपयुक्त मानिएको मसुरो दाल बाँकेको माटो सुहाउदो भएको सुझाब दिएका थिए । बाँकेमा ११ हजार ३ सय २३ हेक्टर जमिनमा मसुरो खेती लगाउन सकिने तत्कालीन कृषि विकास कार्यालयले जानकारी दिएको थियाे ।
बाँकेमा व्यवसायीकरुपमा मसुरो खेती गर्ने हो भने झण्डै २० हजार मेट्रिक टन मसुरो दाल उत्पादन गर्न सकिने तत्कालीन कृषि विकास कार्यालयले जानकारी दिएको थियाे ।
गतबर्ष बाँकेमा जम्मा १ टन मात्रै मसुरो उत्पादन भएको थियो । मिसन मसुरो सुरु भएर लक्ष्य अनुसार काम भए त्यसले किसानहरुको आयस्तरमा निकै प्रभाव पार्ने भए पनि विभिन्न परिस्थितिले शुरु नभएको संघका तत्कालीन अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बेतहनी, बनकट्टी र होलियालाई मसुरोको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने देखिएको छ । पानी कम आवश्यकता पर्ने, राप्तीको चिस्यानबाटै पनि मसुरो खेती हुनसक्ने कृषि विकास कार्यालयको निष्कर्ष छ ।