महाकुम्भले नेपालमा बढायाे ‘भारु’को ‘भाउ’


 

नेपालगन्ज । भारतकाे उत्तरप्रदेशस्थित प्रयागराजमा लागेकाे महाकुम्भ धार्मिक मेलामा सहभागी हुन दैनिक ठूलो संख्यामा नेपालीहरु गइरहेका छन् । आधिकारिक रेकर्ड उपलब्ध नभए पनि दैनिक संयाैकाे संख्यामा नेपालीहरु त्यता गइरहेका हुन ।

त्यसकाे सिधा प्रभाव भारतीय रुपैयाँमा परेकाे छ । बजारमा भारुको भाउ बढेकाे छ भने पहिले जस्ताे सजिलै नपाइरहेकाे भक्तजनहरु बताउँछन् ।

भारु खाेज्दै नेपाल राष्ट्र बैंक,सटही काउन्टर, ब्यापारी, क्यासिनाे खाेज्दै हिड्नेकाे भिड नै लागेकाे छ । यी ठाउँबाट भारु पाउन कठिन भए पछि सीमावर्ती भारतीय बजारमा पुगेर महंगो भारु साट्नेकाे संख्या अत्यधिक छ।

नेपाल राष्ट्र बैंकले कुम्भमेलाका लागि अधिकतम पच्चीस सयसम्म भारु दिइरहेकाे छ । राष्ट्र बैंकले धेरै नदिने भएकाले क्यासिनाे र ब्यापारीमा धाउनेकाे संख्या पनि उल्लेखनीय छ । तर बट्टा ( नेपाली रुपैयाँसंग भारु साट्दा लाग्ने शुल्क) बाटै मनग्य आम्दानी हुने भएकोले क्यासिनाे र ब्यापारीले समेत भारु दिन आनाकानी गरिरहेका छन् ।

‘भारत जाँदा भारु नलगेर भएन । माग एकैपटक बढेकाे हुँदा सजिलै पाइएको छैन । रुपैडिहामा सय भारु खरिद गर्दा सात रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ ।’- प्रयागराज जान दस हजार भारु खरिद गरेका गुर्भाकाेटका दिलबहादुर खत्रीले,-‘हाम्रो गाउँबाट बीस जना आएका छाैं सबैले त्यस्तै महंगोमा भारु किन्नुपर्‍याे ।’

महाकुम्भले महंगाे बनाएको यहि भारुको मूल्य कुनैबेला निकै सस्तिएको थियाे । केही महिना अघिसम्म नेपालका सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको सस्तोमा कारोबार हुन थाल्नुले नेपालमा ‘अनौपचारिक अर्थतन्त्र’को थप विस्तार भएको सङ्केत गर्ने अर्थशास्त्रीहरूले बताएका थिए ।

नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर रहँदै आएको छ अर्थात् नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन।

तर कुनैबेला सीमावर्ती क्षेत्रमा नेपालीहरूले “अनौपचारिक माध्यम”मा प्रति १०० रुपैयाँ भारु १५५ रुपैयाँसम्ममै पाउन थालेका थिए । तर एकाएक कुम्भ मेलाले फेरि बढाएको छ । कुम्भमेला गएर फर्किनु भएका नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेका अनुसार महाकुम्भमा नेपालीको उल्लेखनीय सहभागिता छ ।

जसका कारण भारुको माग बढेकाे हाे । पत्रकार गैरे भन्नुहुन्छ,-‘दुई तीन दिनकाे बसाइँमा एउटा सामान्य नेपालीले कम्तीमा भारु पाँच हजारसम्म खर्चिएको हुन्छ । बढिमा त जति पनि हाेला । त्यसैले भारुको माग बेला अत्यधिक छ ।’

प्रकाशित मितिः     २८ माघ २०८१, सोमबार १३:४६  |