नेपालगन्ज । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने गतिविधि गर्न सकेकाे छैन ।
सडक तथा हवाईमार्गसंग प्रत्यक्ष जाेडिएको याे निकुञ्ज २०६७ सालमा स्थापना भएको थियाे । तर निकुञ्ज प्रशासनसंग कुनै स्पष्ट ‘रोड म्याप’ नभएका कारण पर्यटक भित्र्याउन सकिएको छैन ।
बाँके निकुञ्जलाई जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्ने भए पनि स्थापनाकाे डेढ दशकमा समेत पर्यटक बढ्न नसक्नु सुखद नभएको बताउँनुहुन्छ,व्यवसायी अगुवा कृष्णप्रसाद श्रेष्ठ ।
उहाँ भन्नुहुन्छ,-‘बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाकै प्रमुख टुरिजम गन्तव्यकारूपमा ब्रान्डीङ गरिनुपर्छ ।तर खै किन हाे यहाँ अपेक्षाकृत पर्यटक आगमनले गति लिन नसकेकाे बुझाई छ । ‘ उहाँले यसाे भन्दै गर्दा बाँके राष्ट्रिय निकुञ्जबाट फाईदा लिने कुरामा निजिक्षेत्र समेत रनभुल्लमा छ ।
निकुञ्जमा आव २०८०/८१ मा चार सय ४४ पर्यटक भित्रिएका थिए । तीमध्ये चारजना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन्। हरेक बर्ष थाेरै भए पनि पर्यटक बढेका छन् तर त्याे तालले निकुञ्जमा प्रगति गर्न नसक्ने निजि क्षेत्रकाे बुझाई छ ।
पर्यटक तान्ने रणनीतिसहितको ‘रोड म्याप’ कार्यान्वयन प्रचारात्मक अभियानमै सिमित छ । निकुञ्जलाई सहयाेग गर्ने पार्टनर एजेन्सीका गतिविधि पनि उपलब्धिमुलक हुन सकेका छैनन् ।
‘बाँके निकुञ्जबाट बाँकेले के पायाे ? के पाउने ? अब खाेज्नुपर्नेबेला आएको छ । बर्षमा सय डेढसय पर्यटक घुमाएर केही हुँदैन । केही विशेष रणनीति बनाउन आवश्क छ ।’- हाेटल ब्यवसायी संघ बाँकेका अध्यक्ष रंग खड्काले भने ।

निकुञ्जले पर्यटक बढाउन रोड म्याप नल्याएको पनि होइन । तर त्यसले गति लिन सकेकाे छैन । अनुसार बढी भन्दा बढी पर्यटक भित्र्याउन होमस्टे, राप्ती नदीमा बोटिङ, जङ्गल ड्राइभ, पैदल मार्ग, हात्ती सफारी लगायतका पर्यटकीय गतिविधिका पूर्वाधारलाई परिष्कृत गरेर पर्यटक आकर्षित गर्ने निकुञ्जकाे तयारी थियाे । जुन औपचारिक कार्यक्रमका बेला त गरिन्छ तर ब्यवसायीकरुप लिन सक्दैन ।
पबाघको सङ्ख्या बढाउन आहारा प्रजातिको सङ्ख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुञ्जमा प्रशस्त छन् ।
११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित ३०० किसिमका पन्छी, २ किसिमका दुर्लभसहित २४ घस्रने, ५ किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा गरी ४२२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुञ्जमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निकुञ्ज तराई, भावर र चुरे क्षेत्रमा फैलिएकाले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुञ्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छ।
निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र र्याफटिङको व्यवस्थाका लागि सम्भाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै, ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जङ्गल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको छ ।
बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरीका अनुसार गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । त्यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उहाँको भनाइ छ ।
गाभरमा थारु, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।