नेपालगन्जमा हुँदैछ,महिला उद्यमी प्रदर्शनी


महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी गर्दै आए‌को कुरा यहाँहरुलाई अवगत नै छ।

यस वर्ष नवौ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी यही मिति २०८१ फागुन ६ देखि १० गते सम्म नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा आयोजना गरिनेछ।

हरेक वर्ष नयाँ ढंगले प्रदर्शनीलाई भव्य बनाउने उद्देश्य सहित हामीले तयारी गरिरहेका छौं। प्रदर्शनलाई सफल बनाउन विभिन्न उप-समितिहरु गठन गरेर काम भैरहेको छन् ।

गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको सुरुआत गरिएको हो।

 

हरेक वर्ष प्रदर्शनीले महिलाहरुले उत्पादन गरेको वस्तु तथा उत्पादनहरुको प्रवर्द्धन र बजारीकरणको लागि अवसर सृजना गर्ने गरेको छ। प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरुलाई पनि उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्ने गरेको छ।

नेपालगन्ज उप-महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउनु भएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्नु हुनेछ ।

प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादनको बिक्री तथा प्रचार प्रसार गर्नु हुनेछ।

प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँड, स्थानीय उत्पादन बेसार, अचार, महै, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु रहनेछन् ।

अनुमानित १५ लाख बजेट आवश्यक पर्ने नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ। यसैगरी बाँकेका स्थानीय तहले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

नवौं संस्करणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको छ। प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिनेछ। जहाँ महिला उद्यमीको सम्भावना र चुनौतिका विषय सरोकारवाला र विज्ञसँग संवाद गरिनेछ।

फागनु ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९. गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम गर्ने हामीले तयारी गरिरहेको छौं।

प्रदर्शनीको अर्को महत्वपुर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने पॉरकारहरुलाई प्रवर्द्धन गर्नको लागि स्टलहरू राखिनेछ। जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरुले बनाउनु भएका परिकारहरू विक्रीको लागि राख्नुहुनेछ। पाँच दिन सम्म चल्ने प्रदर्शनीमा करिब १५ हजारले अवलोकन गर्ने हामीले अनुमान गरेका छौं।

महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले गरिएको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई विगतको जस्तै गरी आ-आफनो संचार माध्यममा विशेष महत्वका साथ स्थान दिई प्रचार- प्रसार गरिदिनु हुन अनुरोध गर्दै हार्दिक आभार प्रकट गर्न चाहन्छौं।

प्रकाशित मितिः     ४ फाल्गुन २०८१, आईतवार १२:३२  |