फोर एच नेपालको समन्वय तथा एशिया फोर एच नेटवर्कको आयोजनामा २०८२ मंसिर ७ गतेदेखि ११ (२०२५ नोभेम्बर २३ देखि २७ तारिक) सम्म पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समीट (5 4-H International Green Summit) काठमाण्डौमा आयोजना गरिनेछ।
समिटमा विश्वका २४ देशका १ सय ५० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । समिटमा फोर एच संस्था, फोर एच क्लब, विश्वविद्यालयहरु, अन्तर्राष्ट्रिय दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, खोज अनुसन्धान संघसंस्था तथा व्यक्तिहरु, विज्ञ, अभियान्तालगायतका निकायबाट प्रतिनिधित्व रहनेछ । सहभागी छनौट तथा समिट विज्ञ खुला प्रतिस्प्रर्धाबाट छनौट गरिनेछ ।
समिट अवधिभर, अन्तर्राष्ट्रिय कार्यशाला, समानान्तर कार्यक्रम (साइड इभेन्ट), कार्यपत्र सेसन, माउण्टेन फ्लाइट तथा काठमाडौं टुअर तथा फिल्ड भिजिट आयोजना गरिनेछ । साथै समिटमा हिमालयन खाना महोत्सव, एशिया ग्रीन सेमिनार, सांस्कृतिक कार्यक्रमसहितका गतिविधि आयोजना गरिनेछ । समिटको अन्तिम दिन एशिया ग्रीन घोषणापत्र जारी गरी ३ वर्षका लागि एशिया फोर एच नेटवर्कको नेतृत्व चयन गरिनेछ ।
समिटको तेस्रो दिन आर्थात् २०८१ मंसिर ९ गते राष्ट्रिय युवा महोत्सवको आयोजना गरिनेछ । यसमा देशभरीबाट ३०० जना युवाहरुको सहभागिता रहनेछ । यसमा युवा बहस, हरित आर्ट प्रतिस्पर्धा, जलवायु युवा नीति कार्यशाला तथा १०० युथ इको लिडर छनौट तथा जलवायु युवा अनुभव आदानप्रदान शत्रको पनि आयोजना गरिनेछ । १०० युथ इको लिडरको एक वर्ष युथ ग्रीन प्लान समेत पारित हुनेछ ।
समिटमा जलवायु परिवर्तनले विश्व प्रभाव, युवा, वैदेशिक आप्रवासन तथा रोजगारी, हरित कृषि र एशियाको अवस्था, जलवायु न्याय, दिगो विकासको अवस्था, ग्रीन इकोनोमी र उद्यमशिलता लगायतका विषयहरुमा छलफल तथा बहस गरिनेछ । साथै, नेपालमा जलवायु परिवर्तनको अवस्था, नेपालले पाउनु पर्ने जलवायु न्याय तथा नीति निर्माणको अवस्थाको बारेमा पनि छलफल हुनेछ ।

समानान्तर कार्यशालाका लागि छिट्टै आह्वान गरिनेछ । कार्यशालाका विषयवस्तु, कार्यशालाको ढांचा तथा निवेदन फारम सहितको सूचना जारी गरिनेछ ।
उत्कृष्ट विषय र नविन प्रस्तुतीको आधारमा विश्वभरीबाट आएका मध्ये १० ओटा संस्थालाई छनौट गरिनेछ । साथै एशियन ग्रीन एम्बासडर अवार्डका लागि पनि आह्वान गरिनेछ। यस समिटमा सहकार्य तथा साँझेदारीका लागि पनि खुला आह्वान गरिनेछ ।
फोर एच नेपालले बिगत १० वर्षदेखि नेपालमा युवा, उद्यमशिलता, जलवायु परिर्वतन, कृषि तथा नीति पैरवी लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ। सन् १९०२ मा अमेरिकाबाट शुरु भएको फोर एच अभियान शुरु भएको १ सय २२ वर्ष भएको छ।
फोर एच विश्वका ५२ ओटा देशमा सक्रिय रुपमा काम गरीरहेको छ भने सदस्यताका हिसाबमा ७१ ओटा देशमा फैलिएको छ। हाल फोर एचमा २ करोड ६० लाख भन्दा बढी सदस्यहरु रहेको विश्वको बलियो संगठन हो ।
विश्वभरी संजालीकरण भएको फोर एच अभियानमा बालबालिका, युवा, किसान, सामाजिक कार्यकर्ता, विज्ञ, अनुसन्धानकर्ता तथा प्राध्यापक लगायत क्षेत्रका नेतृत्वको संलग्नता तथा सहभागिता रहेको छ ।