
नेपालगन्ज । अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।
देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहलस्वरूप माघ २८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंककाे शाखा बिस्तार भएको हाे ।
२०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५,०७८ र विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११,५४५ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यसका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २,५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित बैंकिङ कारोबार गर्न आग्रह गरिएको छ ।