बाँकेमा सशक्त पार्टी बनाउन रणनीति बनाउँदै


 

नेपालगन्ज । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेको तेस्रो पुर्ण बैठक पार्टी अध्यक्ष निरक गुरुङको अध्यक्षता र पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालको प्रमुख आथित्यतामा गाभरमा शुरु भएको छ ।

दुईदिन सम्म चल्ने बैठक बाँकेमा एमालेलाई सशक्त पार्टी बनाउने रणनीति निर्माणमा केन्द्रित छ भने ‘जरा अभियान’ अभियानलाई प्रभावकारी बनाउने लगायतका बिषयमा महत्त्वपूर्ण निर्णय गर्ने अध्यक्ष निरक गुरुङले बताउनुभयाे ।

बैठकलाई सम्बाेधन गर्नुहुँदै केन्द्रीय सचिव पदमा अर्यालले
आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर रणनीति निर्माण गर्न निर्देशन दिनुभयाे । उहाँले पार्टीलाई प्रत्यक नागरिककाे घरदैलो पुर्‍याउन नेता कार्यकर्तालाई अपील गर्नुभएको छ ।

नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गर्दै निराकरणका उपायकाे खाेजि गरि जरा अभियान मार्फत पार्टीलाई शसक्त बनाउन खाेजेकाे छ ।

बैठकमा जरा अभियानलाई प्रभावकारी बनाउने बिषयमा छलफल भइरहेकाे पार्टी अध्यक्ष गुरुङले बताउनुभयाे । बैठककाे पहिलो दिन खजुरा,बैजनाथ,काेहलपुर सहित बिभिन्न वडाका ईन्चार्जहरुले रिपोर्टिङ गरेका छन् । दोस्रो दिन अन्य पालिका,वडा कमिटी र बिभागहरुले रिपोर्टिङ गरेपछि निष्कर्ष सहित विभिन्न निर्णय हुने छन् ।

पार्टी केन्द्रीय सदस्य एवं बाँके ईन्चार्ज शान्ति ढकाले जरा अभियान क्रममा हुने महत्वपूर्ण काम जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु रहेको बताउनुभयाे । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ उहाँले भन्नुभयाे । बैठकमा पार्टी केन्द्रीय सदस्य,प्रदेश कमिटी सदस्य सहितकाे उपस्थिति रहेकाे छ ।

जरा अभियानमा एमालेले गर्ने काम
– सदस्यता नवीकरण र विस्तार (कूल मतदाताको ६ प्रतिशत लक्ष्य),
– टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने,
– सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग/समुदायको नेताका रुपमा स्थापित गर्ने,
– सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने,
– सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने,
– वार्षिक कार्यक्रमलाई अगाडि बढाउने,
– एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने,
– जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने,
– २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने,
– पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने,
– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने,
– र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने ।

प्रकाशित मितिः     ६ फाल्गुन २०८१, मंगलवार १८:४२  |