नेपालगन्ज । उद्योग खुले रोजगारी पाइएला भन्ने आशा गरेका दाङवासी अहिले जिल्लामा रहेका तीन ओटा ठूला सिमेन्ट उद्योगको धुलो, धुवा र ध्वनी प्रदूषणका कारण आजित बनेका छन् ।
ईन्सेकले बुधबार सार्वजनिक गरेकाे ‘ईन्सेक बर्ष पुस्तक-२०२५’ मा उल्लेख भए अनुसार,घोराहीमा रहेको घोराही सिमेन्ट, तुलसीपुरमा रहेको सोना सिमेन्ट र लमहीमा रहेको सम्राट सिमेन्ट देशका लागि राजश्व आर्जनको बलियो माध्यम भएपनि जिल्लावासीका लागि भने अभिसाप सावित भएक छन् ।
ईन्सेक लुम्बिनी प्रदेश संयाेजक भाेला महतले स्वच्छ वातावरण रहन पाउने नागरिककाे अधिकार भएकोले सिमेन्ट उद्योगले पारेकाे प्रभावकाे बिषय बर्ष पुस्तकमा समेटिएको बताउनुभयाे । उहाँका अनुसार,महाभारत पहाड उत्खनन् गर्दा चुनढुंगाको क्षतिले खोलामा पानी सुक्न थालेका छन् भने चुनढुंगा खानी उत्खनन्ले दाडके बंगलाचुली क्षेत्रका वासिन्दा घरवास नै समस्यामा परेका छन् ।

बर्ष पुस्तकमा चुनढुंगा बोकेको उच्चभारसहितका टिप्परका कारण कालोपत्रे उत्रिएर कच्ची सडकमा परिणत भएका छन् भने धुलाम्य सडकले खेतीपातीमा समस्या सिर्जना भएको उल्लेख छ ।
अझ उद्योग क्षेत्रक स्थानीयहरू ध्वनी, धुलो र धुवाँले समस्यामा छन् । रातमा धुलो धुवाँ नदेखिने भएकाले सिमेन्ट उद्योगले रातीको समयमा पूर्ण क्षमतामा उद्योग चलाउँदा धुलो र ध्वनीले आसपासमा सुत्न समेत समस्या भएको बर्ष पुस्तकमा उल्लेख छ ।
बालिनाली उत्पादनमा ह्रास आएको छ भने क्षयरोगका बिरामी बढेको पाइएको छ । स्थानीयले विरोध गरे पनि उनीहरूको कुनै सुनुवाई हुन सकेको छैन । यसबारेम सार्वजनिक सरोकार कानुन व्यवसायी समूह, नेपालगञ्जले पनि पीडितको अधिकारका लागि वकालत गरिरहेको छ ।