नेपालगन्ज । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले पर्यटकका लागि पुर्वाधार तयार भइसकेकाे जनाएको छ ।
निकुञ्जले पर्यटकलाई चाहिने न्युनतम पुर्वाधार तयार भइसकेकाे तर निजि क्षेत्रले त्यसलाई ‘क्यास’ गर्न नसकेकाे देखिएको छ ।
‘जिप सफारी गर्न पुर्वाधार तयार छ तर यहाँ व्यवसायीसंग जिप नै छैन । हामीले सफारीका लागि पुर्वाधार बनाइदिने हाे । व्यवसायी साथिहरुले जिपकाे ब्यवस्थापन गर्ने हाे ।’- निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कंडेल भन्नुहुन्छ,- ‘याे एउटा उदाहरण मात्रै हाे । निकुञ्जले पुर्वाधार बनाईदिसकेकाे अवस्थामा पर्यटन प्रवर्धन गर्नतर्फ निजिक्षेत्र लाग्नुपर्यो ।’
ईनरुडेक बाँकेले काेहलपुरमा शनिबार आयोजना गरेकाे ‘स्थानिय पर्यटन उद्यमीहरुको अवसर सुदृढिकरणका लागि कार्याशाला गोष्ठी’मा कार्यपत्र प्रस्तुत गर्नुभएका प्रमुख कंडेलका अनुसार, निकुञ्जमा जंगलसफारी, हात्तीसफारी, चुरे हाईकिङ,र्याफि्टङ जस्ता गतिविधि खुल्ला गरिएको छ । पर्यटक हिड्न दुई सय किलोमिटर वनपथ,वन्यजन्तु हेर्न मचान निर्माण भइसकेका छन् ।
‘काेहलपुर साईटमा नेचरगाईड सहित निकुञ्ज प्रवेशद्वार मानेर गतिविधि गरिरहेका छाै । त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्यापर्याटनकाे आनन्द लिन सक्नुहुन्छ । अबकाे केही समयमै बाघपनि प्रत्यक्ष देख्न सक्नुहुन्छ ।’- निकुञ्ज प्रमुख कँडेलले भन्नुभयाे ।
सडक तथा हवाईमार्गसंग प्रत्यक्ष जाेडिएको याे निकुञ्ज २०६७ सालमा स्थापना भएको थियाे । तर निकुञ्ज प्रशासनसंग कुनै स्पष्ट ‘रोड म्याप’ नभएका कारण पर्यटक भित्र्याउन सकिएको छैन ।
बाँके निकुञ्जलाई जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्ने भए पनि स्थापनाकाे डेढ दशकमा समेत पर्यटक बढ्न नसक्नु सुखद नभएको बताउँनुहुन्छ,व्यवसायी अगुवा कृष्णप्रसाद श्रेष्ठ ।
उहाँ भन्नुहुन्छ,-‘बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाकै प्रमुख टुरिजम गन्तव्यकारूपमा ब्रान्डीङ गरिनुपर्छ ।तर खै किन हाे यहाँ अपेक्षाकृत पर्यटक आगमनले गति लिन नसकेकाे बुझाई छ । ‘ उहाँले यसाे भन्दै गर्दा बाँके राष्ट्रिय निकुञ्जबाट फाईदा लिने कुरामा निजिक्षेत्र समेत रनभुल्लमा छ ।

११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित ३०० किसिमका पन्छी, २ किसिमका दुर्लभसहित २४ घस्रने, ५ किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा गरी ४२२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुञ्जमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज तराई, भावर र चुरे क्षेत्रमा फैलिएकाले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुञ्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छ।
निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र र्याफटिङको व्यवस्थाका लागि सम्भाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ ।
त्यस्तै, ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जङ्गल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको छ ।
बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरीका अनुसार गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । त्यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उहाँको भनाइ छ ।
गाभरमा थारु, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । निकुञ्ज प्रमुख कँडेलले निजिक्षेत्रले पर्यटन प्रवर्धनका लागि प्याकेज ल्याउनुपर्ने बताउँनुहुन्छ ।
उहाँले बाँकेका प्रत्येक हाेटलमा छिर्दा पाहुनाले बाँके राष्ट्रिय निकुञ्जका तस्वीर देख्नु पाउनुपर्ने उल्लेख गर्दै भन्नुहुन्छ,-‘तर मैले यहाँका हाेटलले त्यसाे गरेकाे पाएको छैन । अब हातेमालो गराै । हामीले जे गर्नुपर्ने हाे गर्छाै, निजिक्षेत्रले जे गर्नुपर्ने हाे गराै । बाँके निकुञ्जलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गराैं ।’
ईनरुडेकले आयोजना गरेकाे कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुर्य ढकाल,प्रदेशसभा सदस्य बसन्ती अधिकारी,कृष्णा केसी नमुना,पालिका अध्यक्ष लगायत पर्यटन क्षेत्रका अगुवा सहभागी थिए । पर्यटन क्षेत्रकाे विकासका लागि बृहद कार्यक्रम गरिएको ईनरुडेकका अध्यक्ष धर्म राेकायले बताउनुभयाे ।