फागुन १०, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल र इन्रुडेक कोहलपुरको साझेदारीमा शनिवार कोहलपुरमा स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागी कार्यशाला गोष्ठीले ६ बुँदे घोषणा—पत्र जारी गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले निकुञ्ज मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न र मध्यवर्ती क्षेत्र आसपास बसोवास गर्ने मानिसहरुको जीवनस्तर उकास्नका लागी वनमा आधारित व्यवसायलाई प्रर्वद्धन गर्न निकुञ्ज कार्यालय तयार रहेको वताए । उनले बिषेशगरी पाटे बाघ संरक्षरणका लागी स्थापना गरिएको यस निकुञ्जको प्रचारप्रसार गरी समग्र पर्यटन व्यवसायलाई अगाडी बढाउन आफुहरु तयार रहेको समेत बताए ।
कार्यक्रममका प्रमुख अतिथि प्रतिनिधिसभा सूर्य ढकालले आफ्नो निर्वाचन क्षेत्रमा रहेको यस बाँके राष्ट्रिय निकुञ्जको पर्यटन विकासका लागी केन्द्र सरकारसंग आफूले सक्दो पहल गर्ने बताए । साथै उनले भने—‘स्थानीयहरुलाई बाँके राष्ट्रिय निकुञ्जको महत्वबारे थप प्रचारप्रसार गर्नुपर्ने अति आबश्यक रहेको छ ।’
इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागी सम्बन्धित स्थानीय तहले जीविकोपार्जन सम्बन्धी विभिन्न किसिमका तालिम, छलफल, सीप विकास लगायतका कुराहरुमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा लुम्बिनी प्रदेससभा सदस्य माननीय कृष्णा केसी नमुनाले थोरै लगानीबाट पनि पर्यटन ब्यबसाय संचालन गर्न सकिने हुँदा त्यसका संभावनाहरु खोजी गरेर प्रचारप्रसार गर्नुपर्ने बताईन ।

त्यस्तै लुम्बिनी प्रदेससभा सदस्य माननीय बसन्ती न्यौपाने अधिकारीले निकुञ्ज आसपासका होमस्टेहरुमा स्थानीय उत्पादनलाई जोड दिई रैथाने भाषा कला संस्कृतीको प्रर्वद्धन गर्नुपर्ने बताईन् ।
कार्यक्रमका अतिथि तथा राप्तिसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तीयाक अहमद साहले पर्यटन विकासका लागी गाउँपालिकाले आबश्यक बजेट विनियोजन गर्न गाउँपालिका तयार रहेको बताए । त्यस्तै पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले नीतिगत तहमा बाँके राष्ट्रिय निकुञ्जलाई प्रर्वद्धन गरी त्यसमा आधारित व्यवसायलाई थप व्यवस्थापन गर्न परिषद्ले काम गर्दे आएको वताए ।
कार्यक्रममा जनप्रतिनिधीहरु, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदयिक वन, सरोकारवाला निकाय लगायत २०० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
घोषणा—पत्र २०८१
बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा Zoological Society Of London Nepal (ZSL Nepal) र इन्रुडेक कोहलपुरको साझेदारीमा स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागी कार्यशाला गोष्ठीले निम्न ६ बुँदे घोषणा—पत्र जारी गरेको छ ।
१. पर्यटन प्रर्वद्धनका लागी स्थानीय उत्पादनलाई जोड दिई बजारीकरण समेत गर्ने ।
२. भौतिक पूर्वाधारको विकास गर्दा गराउँदा पर्यटनमैत्री र फोहरमैला व्यवस्थापनलाई ध्यान दिई गर्ने गराउने ।
३. बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रर्वद्धनका लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने गराउने ।
४. सम्बन्धित सबै सरोकारवालाहरु निकायले आ—आफ्नो क्षेत्रबाट गर्नुपर्ने क्रियाकलापहरु आपसी समन्वय र सहकार्यमा तत्काल गर्ने गराउने प्रतिबद्धता गर्ने ।
५. संघ प्रदेश र स्थनीय नीति तथा कार्यक्रममा पर्यटन प्रर्वद्धनका लागी निश्चित प्रतिशत बजेट विनियोजनका गरी सोको प्रभावकारी कार्यन्वयनका लागी जोड दिने ।
६. सबै सरोकारहरुको संलग्नतामा बाँके राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्रहरुमा हुन सक्ने पर्यटनका गतिविधिहरु मध्ये प्रचारात्मक कार्यहरु, पर्यटकलाई नेचर गाईडसंग जोड्ने कार्यहरु, होमस्टे प्रर्वद्धनका कार्यहरु, फोहरमैला व्यवस्थापनका कार्यहरु र अन्य पर्यटकीय पूर्वाधार विकासका कार्यहरुमा समन्वय र सहकार्य गरी समग्र पर्यटन विकास गर्ने ।