नेपालगन्ज । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ कोहलपुरमा रेसिङ्ग सारा क्लबको आयोजनामा मुख्यमन्त्री कोहलपुर गोल्ड कप -२०८१ काे तयारी तीब्र पारिएको छ ।
खेलकुद पर्यटन प्रवर्द्धनको लक्ष्यसहित स्थानीय पर्यटन प्रवर्द्धनका लागि तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप सुरु हुने भएको हो।
कोहलपुर रेसिङ्ग सारा क्लबका अध्यक्ष चक्र क्षेत्रीको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले खेलकुदले युवालाई अनुशासित बनाउने, शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत गर्ने र स्थानीय तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुर्याउने बताए। साथै, उनले खेल पर्यटनले कोहलपुरको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरे।
प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म कोहलपुर-२, १३ बिघा खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा अन्तर्राष्ट्रिय दुई टिम घाना र भारतसहित आठवटा टिम सहभागी हुने पत्रकार सम्मेलनमा बताइएको छ। खेल फिफाको नियमअनुसार सञ्चालन हुनेछ। कुल लागत ९१ लाख २६ हजार रुपैयाँ रहेको र प्रतियोगितामा विजेता टिमले आठ लाख रुपैयाँ, उपविजेताले चार लाख रुपैयाँ तथा तृतीय स्थान प्राप्त गर्ने टोलीले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिताले कोहलपुरको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उल्लेख गर्दै सबै खेलाडी, आयोजक, प्रायोजक तथा सहभागी हरूलाई धन्यवाद ज्ञापन गरे। उनले प्रतियोगिताको सफलताले आगामी दिनमा थप भव्य प्रतियोगिताहरू आयोजनाको मार्ग प्रशस्त गर्ने बताए।
कार्यक्रमको सहजीकरण कोहलपुर रेसिङ्ग सारा क्लबका सचिव नव किरण शाहले गरेका थिए। उद्घाटन समारोहमा जनप्रतिनिधि, खेलप्रेमी, स्थानीय बासिन्दा तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८१ ले खेलकुदमार्फत स्थानीय पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले कोहलपुरलाई खेलकुद पर्यटनको महत्वपूर्ण केन्द्र बनाउन योगदान दिनेछ।