कुरा धेरै,काम थाेरै


नेपालगन्ज – नेपालगन्जलाई केन्द्र बनाएर क्रस बोर्डर टुरिजमकाे चर्चा धेरै भए पनि कामले गति लिन सकेन ।
नेपालगन्ज पछिल्लाे समय क्रस बोर्डर टुरिजमकाबारे मन्थन हुँदै आएका छन् तर गतिविधि शून्य छ ।

नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन कुनै बेला सक्रिय रहेका सरोकारवाला निकायका अगुवाहरु अहिले भने सेलाएका छन् ।

नेपालगन्जका प्रतिनिधिसभा सांसद धवल शमसेर राणा भन्छन्,–‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टुरिजम अपरिहार्य छ । अब हामी त्यस दिशामा अगाडी बढ्नुपर्छ ।’ राणा नेपालगन्जले अब भारतीय पर्यटकलाई नजरअन्दाज गर्न नसक्ने पनि बताए ।

उनले भने,–‘जमुनाह नाकाबाट भारतीय नागरिक छिर्ने बित्तिकै फरक तरिकाले हेर्ने नजरमा अब परिवर्तन ल्याउनुपर्छ । सीमावर्ती भारतीय नागरिकहरु पर्यटक बनेर दुनिया घुम्न जान्छन् भने राम्रो वातावरण बनाउन सक्यौं भने नेपाल पनि घुम्न आउँछन् ।’

नेपालगन्जमा क्रसर बोर्डर टुरिजमका आधार तयार भएका छन् । क्यासिनो खेल्न लखनउबाट मात्र होइन दिल्लीबाट समेत आइरहेका छन् ।

तीनै नागरिकलाई कर्णाल प्रदेशको हिलस्टेशनदेखि बाँके, बर्दियाको पर्यापर्यटन घुमाउन सकिने प्रशस्त आधार तयार भएको छ । छोटो समयको पर्यटनका लागि नेपालगन्जमा पनपार्कहरु बन्दै छन् त्यसले सीमावर्ती भारतीय नागरिकलाई आर्कषित गर्ने छ ।

लामो समयको टुरिजमका लागि नेपालगन्जबाटै कर्णाली प्रदेशका लागि माउण्टेन फ्लाईट, टे«किङ जस्ता योजना बन्दै गरेको मेरो प्लानेट फनपार्ककाका ओमकार मिश्र बताउँछन् । ‘क्रस बोर्डर टुरिजमका लागि आधार तयार गर्दै जान सक्यौ भने राम्रो हुन्छ । हामी त्यसका लागि सक्रियतापूर्वक लाग्दै छौ. ।’– मिश्र भन्छन् । यहि याेजना अनुसार कैलास मासराेवरकाे माउन्टेन फ्लाईट संचालन भइरहेकाे छ ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले क्रस बोर्डर टुरिजम अहिले पनि रहेको बताउँदै अब त्यसलाई बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्–‘कैलाश मानसरोवरको त नेपालगन्ज हब नै हो ।

तर अब यसमा मात्र सीमित नभई थप क्षेत्र बिस्तार गर्नुपर्छ ।’ बिभिन्न सेवाप्रदायक कम्पनीहरुले नेपालगन्जलाई ट्रान्जिट बनाई कर्णालीका लागि टुर प्याकेज ल्याएका छन् । त्यसमा भारतीय नागरिकलाई जोड सकिने आधार तयार भएको छ ।

भ्रमण वर्ष २०२० शुरु हुनुपूर्व नेपालगन्जको पर्यटन प्रर्बधनका लागि लखनउसम्म गएर अन्तरक्रिया र प्रचार प्रसार गर्ने योजना बनेको थियो । तर कोभिडका कारण भ्रमण वर्ष नै स्थगित भयो भने लखनउ जाने योजना तत्कालका लागि तुहियो ।

पर्यटन प्रर्बधन जिल्ला स्तरीय समितिका सचिवालय सदस्य रहेका सिद्धार्थ समूहका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने भन्छन्,–‘नेपालगन्ज र भारतीबीच अब व्यवसायिक पर्यटनको सम्बन्ध गाँस्ने गरी प्रचार प्रसारको काम निकट भविष्यमै गर्नुपर्छ ।’

गाभर होमस्टेका संस्थापक कृष्ण चौधरीले पर्यापर्यटनका लागि भारतीय पर्यटक ठूलो संख्यामा भित्रिन सक्ने आधार तयार भएको बताउँछन् । अहिले सीमित मात्रामा आइरहेका भारतीय पर्यटकको ठूलो संख्या भित्रा्उने गरी प्रचार प्रसार गर्नुपर्ने उनको भनाई छ ।

सदियौंदेखिको रोटी,बेटीको सम्बन्धलाई अब व्यवसायिक पर्यटनको सम्बन्धसंग पनि जोड्नुपर्ने आवाज उठ्दै आएको छ ।

नेपालगन्जकाे मेयर हुँदा धवल शमशेर राणाले तत्कालीन  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेटेर क्रस बोर्डर टुरिजमका बारेमा सीमावर्ती क्षेत्रका भारतीय जनप्रतिनिधि र प्रशासकसंग अन्तरक्रियाको वातावारण बनाईदिन अनुरोध गरेका थिए ।

प्रकाशित मितिः     १६ फाल्गुन २०८१, शुक्रबार ०७:५०  |