‘भ्रष्ट’भन्दै फेसबुकमा लेख्ने मेयरलाई  सिडीओकाे कडा चुनाैती


गणेश आचार्य । नेपाल प्रेसबाट

दाङ । कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

हिजोमात्र गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।

मेयर आचार्यको स्टाटसलाई लिएर हामीले सीडीओ रिजालसँग सम्पर्क गर्‍यौं । मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको रिजालले प्रतिक्रिया दिए ।

उनले भने,´उसले भनेको स्कूलमा सेन्टर परेन । उसको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेको हो ।`

रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।

´मैले मेयरलाई प्रमाण ल्याएर आइज भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेन भने कानूनी कारवाही गर्छु`, सीडीओ रिजालले भने ।

प्रकाशित मितिः     १६ फाल्गुन २०८१, शुक्रबार १९:३८  |