
नेपालगन्ज । शक्तिको आडमा बाँकेका मुख्य राजनीतिक दलका नेता कार्यकर्ताले नेपालगन्ज विमानस्थलकाे सुरक्षा संवेदनशीलताकाे धज्जी उडाएका छन् ।
केन्द्रबाट आउने नेताकाे बिदाई र स्वागतका नाममा विमानस्थल उनीहरुले गरिरहेकाे हुलहुज्जत राेक्न नियामक निकाय निरही सावित भएका छन् ।
‘विमानस्थल आमसभास्थलमा परिणत भएको छ । एयरपाेर्ट परिसरमा उनीहरु गरिरहेकाे हुलहुज्जतका कारण यात्रु मारमा पर्छन् । सुरक्षा संवेदनशीलता बढ्छ ।’- सुरक्षाकर्मीकाे कथन छ ।
जतिसुकै आग्रह गर्दा पनि दलका नेता कार्यकर्ताले मान्दैनन् । उनीहरु नेतालाई फुलमाला चढाउन रनवे छेउसम्मै पुग्न खाेज्छन् । भिआइपी कक्ष त भरिभराउ नै हुन्छ । विमानस्थलकाे परिसर कार्यकर्ताले भरिन्छ ।
नियामक निकाय हुलहुज्जत गर्ने दल र तिनीहरुका नेता विरुद्ध कडाइका साथ प्रस्तुत नभएसम्म यस्तै भइरहन्छ । तर कुन कर्मचारी र सुरक्षा निकायले त्याे हिम्मत गर्ने ? नीति नियम बनाउने नेताहरु आफैले हुलहुज्जत गर्दै हिडेपछि फसाद परेकाे छ ।
नेता कार्यकर्ताको भिड व्यवस्थापन गर्न विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको जिल्लाका एक उच्च सुरक्षा अधिकारीले बताए ।

विमानस्थलमा नेता पुग्दा चाकडीका लागि भित्रैसम्म जाने, भीआइपी रुममा पनि भिडभाड गर्ने र माला खादाको अनावश्यक खर्चिलो स्वागत गर्ने शैली बन्द गर्न दलहरु अग्रसर हुनुपर्छ । तर कस्ले सिकाईदिने ? कस्ले मान्ने ?
सबै नेता कार्यकर्ताहरु बिभिन्न लियरमा लाइन लागेर नेताहरुलाई चाकडीको शैलीमा माला लगाउन तछाड मछाड गरिरन्छन् । नेताहरुलाई स्वागत गर्ने कार्यकर्ताको भीडका कारण विमानबाट उत्रिएका यात्रुले बाहिर निस्कने बाटो नपाएपछि प्रहरीले बाध्य भएर यात्रुले बाटो नपाएको भन्दै स्वागतार्थीहरुलाई विमानस्थल बाहिर लैजानु पर्नेसम्मकाे अवस्था छ ।
नीति निर्माण गर्ने नेता स्वंयले विमानस्थलमा भीडभाड नगर्ने, माला र खादामा धेरै खर्च नगर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेको थियो ।
दलहरुकाे यस्ताे गतिविधि देखेका नागरिक समाजका अगुवा भन्छन्,-‘जबसम्म नियामक निकायले दलका नेताहरुलाई याे विमानस्थल हाे,तिम्रो शक्ति प्रदर्शन गर्ने आमसभास्थल होइन भनेर सबक सिकाउँदैनन् तवसम्म यस्ताे गतिविधि राेकिनेवाला छैन ।’