नेपालगन्ज । फागुण १५ गते सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गर्दा विभिन्न कार्यालयका प्रमुखहरु पनि फेरिए ।
जसमा बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडीओ) खगेन्द्र प्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भयाे ।
सरुवा भएका सिडिओ रिजालकाे बिदाई भइसकेकाे छ। तर पनि सरकारले अझै बाँके जिल्लामा नयाँ सिडीओ पठाएको छैन ।
बाँके जस्ताे उच्च सुरक्षा संवेदनशीलता भएको जिल्लामा तत्काल सिडिओ नपठाएर गृहप्रशासनले लापरबाही गरेकाे छ ।
बाँकेमा चाेरीपैठारी,प्राकृतिक स्रोतसाधनकाे दाेहन र अवैध धन्दामा संलग्न ‘स्वार्थ समुह’ ले सिडीओ ल्याउने र फेर्ने हैसियत राख्ने गरेकाे कर्मचारीबृत्तमा चर्चा हुने गरेकाे छ । याे समुहले राजनीतिक पहुँचकाे प्रयाेग गरि सिडीओको सरुवामा भुमिका खेल्छ ।

स्वार्थ समुहले भने अनुसारकाे गरिदिने हाे भने सिडीओ, प्रहरी निकायका प्रमुख जिल्लामा पूरा कार्यकाल सहजरूपमा बिताएर फर्किनु पर्ने नत्र समयअघि नै बाहिरीनुपर्ने परिस्थिति बनिरहेकाे छ ।
बाँके जिल्लामा पछिल्लो सिडीओले पूरा कार्यकाल बिताउन पाएका छैनन् । याे वा त्याे बहाना समयअघि नै सरुवा भएको छ । समयअघि नै प्रहरी प्रशासन प्रमुख सरुवा हुन थालेपछि बाँके उनीहरुका लागि अस्थिर जिल्ला बन्न पुगेकाे छ ।
पछिल्लो समय हरेक सिडीओ अन्तिम समयमा बदनामीकाे भारी बाेकेर जिल्ला छाड्नुपर्ने अवस्था आएको छ । स्वार्थ समुहले भने अनुसारकाे नगरे बदनाम गर्न समेत अघि सर्ने गरेकाे छ ।
स्वार्थ समुहबीच केहि खिचडी पाक्दै गरेका कारण गृहप्रशासनले सिडीओ सरुवा गरेकाे पाँचदिन बित्दा समेत बाँकेमा नयाँ सिडीओ नपठाएको कर्मचारीबृत्तमा चर्चा छ ।