बैंकमा पैसा अल्झियो,निक्षेपकर्ताकाे समस्या बल्झियो (भिडियो रिपोर्ट)


– श्रीमतीकाे दुर्घटनामा परि निधन भयाे । आफू मिस्त्री काम गर्थे । दुर्घटना वीमा र काम गर्दा जम्मा भएको एघार लाख कर्णाली विकास बैंकमा जम्मा गरेका थिए । फागुनमा छाेरीको जापान भिसा लाग्याे । त्यहाँ बुझाउने पैसा भएन । बैंकमा हारगुहार गर्दा दस हजार भन्दा माथि नमिल्ने भनियाे ।

बर्दियाका दिलु थारु छाेरी बिदेश पठाउन छरछिमेकमा ऋणका लागि हारगुहार गरिरहेका छन् । भन्छन्,-‘मेराे पैसा भएको बैंकमा ताला छ, छाेरीलाई बिदेश पठाउन आफन्त, छरछिमेकसैग हारगुहार गरिरहेकाे छु ।’

– खजुराका बिनाेद मगरले भाका राखेर नेपालगन्जबाट नयाँ अटाे किने । भाका सकिने बेलासम्म कर्णाली विकास बैंकमा राखेर छ लाख रुपैयाँ पाएनन् । अन्ततः शाेरुमले घरमै गएर अटाे लग्याे । मगर भन्छन्,- ‘इलम गर्छु भने अटाे किने । पैसा हुँदाहुँदै यस्ताे परिस्थिति भाेग्नुपर्‍यो ।’

नेपालगन्जमा मुख्य कार्यालय रहेकाे कर्णाली विकास बैंक समस्याग्रस्त भएर नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालिरहेकाे पनि झन्डै तीन महिना पुग्न लागेकाे छ । राष्ट्र बैंकले पुस दस गते समस्याग्रस्त घाेषणा गर्दै व्यवस्थापन सम्हालिरहेकाे छ । तर याे अवधिमा दिलु र बिनाेद जस्ता निक्षेपकर्ताका समस्या हल हुन सकेका छैनन् ।

ठूला निक्षेपकर्ताका पीडा ठूलै हाेलान् ! तर सार्वजनिकरुप बाेल्न सकेका छैनन् । स-साना निक्षेपकर्ताका पीडा भने सडकमा पाेखिएका छन् । निक्षेप फिर्ता नपाउँदा उनीहरुले भाेग्नुपरेका पीडा भनिसाध्य छैन ।

कसैकाे उपचार हुन सकेकाे छैनन् । छाेराछाेरीको बिहे राेकिएका छन् । व्यापार राेकिएको छ । बैंककाे गेटमा ताला झुण्डीएको छ । यता राष्ट्र बैंक निक्षेपकर्तालाई धैर्य हुन अपील गरिरहेकाे छ । त्याे अपीलले समस्याग्रस्त निक्षेपकर्ताकाे समस्या हल हुन सकेकाे छैन ।

पछिल्लोपटक व्यवस्थापन समुहले सुचना निकालेर भनेकाे छ,-

यस वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समुहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको व्यहोरा विदितै छ ।

हाल बैंकको Due Diligence Audit (DDA), आन्तरिक तथा बाह्य लेखापरीक्षण कार्य जारी रहेको र कर्जा असुल उपर गरी तरलता व्यवस्थापनको कार्य समेत भईरहेको हुँदा मिति २०८१/११/१९ देखि २०८१/११/२२ गते सम्मका लागि निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट निक्षेपकर्ताहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं ।

तर याे सुचनाले मात्रै निक्षेपकर्ताकाे पीडामा मल्हम लगाउन सकेकाे छैन । पैसा चाँडै फिर्ता हुने आशमा छन् उनीहरु । उक्त बैंक समस्याग्रस्त हुनुमा परिस्थितिजन्य कारणले उत्पन्न आर्थिक शिथिलता मात्रै नभई ब्यवस्थापन पक्षबाट भएको बित्तीय अपचलन कारण रहेकाे भन्दै राष्ट्र बैंकले अनुसन्धान गरिरहेकाे छ । तीन महिना पुग्न लाग्दा निक्षेपकर्ताका समस्या बल्झीरहेका छन् तर बैंक ठगीमा संलग्नहरु पक्राउ परेका छैनन् ।

राष्ट्र बैंकका अनुसार, कर्णाली विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको छ । यसमा संलग्न व्यक्तिहरु चाडाे पक्राउ पर्नुपर्ने बताउँछिन् आफ्नो बीस हजार फसेकाे बताउँने बैजापुरकी महिला बचतकर्ता ।

पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य खुलेको बिबरणहरु सार्वजनिक भएका छन् ।

बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरिएको हो ।

बैक अध्यक्ष डा. मिश्रको संयोजकत्वमा ५ पुसमा पाँच सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी ८ पुसमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपाल राष्ट्र बैंकको वित्तीय सुपरीवेक्षण विभागलाई प्रतिवेदन बुझाएको थियो ।

डा. मिश्र छानबिन प्रतिवेदनमा बैंकको करिब १ अर्ब २६ करोड अपचलनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ , पूर्वसीईओ , पूर्ववित्त विभाग प्रमुख, तथा हालका सीईओ  किटान गरिएको छ ।

राष्ट्र बैंकको याे कारबाहीलाई संचारमाध्यमले आफुअनुकुल व्याख्या गरेकाे भन्दै कर्णाली विकास बैंकले आफ्नो बचाउमा धारणा सार्वजनिक गरेकाे थियाे । तर त्यसरी बचाउ गरेकाे केही दिनमै राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरेकाे छ ।
राष्ट्र बैंककाे कारबाहीमा परेकाे याे बैंक २०६० फागुनमा स्थापना भएको हाे ।

याे साविककाे मध्य तथा सुदुरपश्चिमकाे पहिलाे विकास बैंक हाे । यसकाे बाँके कोहलपुर, खजुरा, शम्शेरगन्ज, बैजापुर। बर्दिया बाँसगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर । दाङ्ग : तुल्सीपुर, विजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा, सिसहनियामा शाखा छन् ।

प्रकाशित मितिः     २१ फाल्गुन २०८१, बुधबार ०८:०७  |