
नेपालगन्ज । नेपालगन्जस्थित लर्डबुद्ध एजुकेशनल एकेडेमीले न्युनतम सेवा सुविधाको माग गर्दै भइरहेकाे कर्मचारीकाे आन्दोलन गर्ने कर्मचारीका नेतालाई अन्यायपूर्ण तरिकाले दुख दिने काम गरेकाे खुलेकाे छ ।
आफ्नै कर्मचारीले गरेकाे आन्दोलन वार्ताको माध्यमबाट समाधान खाेज्नुकाे सट्टा उनीहरु विरुद्ध प्रतिराेध साध्ने ब्यवस्थापन पक्षलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले त्यस्ताे गतिविधिमा राेक लगाउन कडा आदेश दिएको छ ।
बुधबार श्रम ऐन, २०७४ को दफा १६३ (च) अनुसार आदेश जारी गर्दै विभागले समस्या समाधान नहुँदै आन्दोलनको नेतृत्व गरेका कर्मचारीकाे सरुवा गरेर व्यवस्थापनलाई दुख दिने काम गरेकाले त्यस्ताे गतिविधिमा राेक लगाएको हो ।
अस्पताल प्रतिष्ठानको सामुहिक सौदाबाजी सम्बन्धि विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मध्यस्तता गठन भई समस्या समाधानको लागि प्रक्रिया शुरु भएको थियाे । त्याे अवस्थामा क्रियाशील ट्रेड युनियनको पदाधिकारी एवंम सामुहिक सौदाबाजी समितिको सदस्यहरु सुमन गिरि, कृष्ण बहादुर बुढा, बिन्दु शर्मा, श्रृस्टि श्रेष्ठ, सुविना खरेलहरुलाई नेपालगंजबाट कोहपुर, चिसापानी सरुवा गरेको गरिएको विभागका कारखाना निरीक्षक सागर अर्यालले बताए ।
उक्त सम्बन्धमा विभागमा फागुन ११ गते वार्ता छलफल क्रममा तथा क्रियाशिल ट्रेड युनियनको तर्फबाट कार्यरत श्रमिकहरुका व्यवस्थापकबाट जानीजानी दुःख हैरानी दिने काम भएको जानकारी प्राप्त भएको विभागकाे आदेशमा छ ।

मध्यस्थताको निर्णय नभएसम्मको लागि व्यवस्थापकले गिरि, बुढा, शर्मा, श्रेष्ठ, खरेलहरुको गरेको सरुवा कार्यन्वयन नगर्न आदेश दिइएको छ ।
साथै अन्य श्रमिकहरुको हकमा समेत श्रम ऐन २०७४ दफा ९२ उपदफा (२) अनुसार जानी जानी दुःख हैरानी नदिन अनुचित श्रम अभ्यास नगर्नुहुन श्रम ऐन, २०७४ को दफा १६३(१)को (च) आदेश अनुसार विभागले मंगलबार निर्णय गरेकाे छ ।
कर्मचारी आन्दोलनकै बीच नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको नाम फेरिएको छ। झण्डै तीन दशकदेखी लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो।
कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो। कलेजमा नयाँ ब्यवस्थापन फेरिएको करिव ८ महिनापछि शिक्षण अस्पताल नेपालगन्जको नाम फेरिएको हो।
नयाँ ब्यवस्थापनले नाम परिवर्तन गरेर ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.’ कायम गरेको छ। नेपालगन्जमा सञ्चालित उक्त अस्पतालको मुख्य गेटमा साईन बोर्ड समेत झुण्ड्याइएको छ।
साविक मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत विभिन्न माग राखेर अहिले आन्दोलनमा छन। अस्पताल ब्यवस्थापनले कर्मचारीको आन्दोलनका बीच ८ सय भन्दा बढी कर्मचारीको आवेदन मागेको छ।