नेपालगन्ज । बाँके र बर्दियाका किसानहरूले प्रहरी,प्रशासन किसानमैत्री नभएको बताएका छन् । भारतबाट हुने कृषिजन्य सामाग्रीको तस्करीले स्वदेशी उत्पादन बिक्री नभएर खेतमै कुहिने अवस्था आउँदा समेत प्रहरी,प्रशासनले राेक्न नसकेकाे दुग्ध व्यवसायी संघका केन्द्रीय सदस्य ईन्द्र लुईटेलले बताउनुहुन्छ ।
‘दैनिक जसाे भारतबाट गुणस्तरहीन दूध भित्र्याउने काम भइरहेकाे छ । तर नियन्त्रणमा कसैकाे चासाे छैन । त्यसलाई राेक्न किसान स्वंय खटिनुपर्ने अवस्था छ ।’- भट्टले भने,-‘हामीले गस्ती गरेर नाकाबाट भित्र्याउने दूध र माछा जस्ता कृषिजन्य सामाग्री जफत गरिरहेका छाैं ।’
नेपालगन्जमा बिहीबार लुम्बिनी प्रदेश कृषि मन्त्री दिनेश पन्थीकाे उपस्थितिमा आयोजित कार्यक्रममा लुईटेल सहितका किसानले अगुवाले खुलेरै प्रहरी,प्रशासनले सहयाेग नगर्दा भारतबाट अवैधरुप कृषिजन्य सामाग्रीको तस्करी भइरहेकाे बताउनुभयाे । उहाँहरुले यसाे बताइरँदा प्रशासन र सुरक्षा निकायका अगुवा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । उहाँहरुले सबै प्रकारका तस्करी नियन्त्रण गर्न सुरक्षा निकाय खटिएको बताउदै किसानकाे समन्वयमा तस्करी नियन्त्रण हुने बताउनुभयो ।
प्रदेश कृषि मन्त्री पन्थीले किसानका दुखेसाे सुनेपछि प्रहरी,प्रशासनका सम्बन्धमा आएका बिषय सल्टाउन उच्चस्तरीय छलफल गरेर समाधान खाेजिने बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘ म चाँडै किसानसंग सम्बन्धित समस्या समाधानका लागि सबै सुरक्षा निकायसंग छलफल गर्छु ।’

कार्यक्रममा किसानले मुख्य नाकामा रहेकाे क्वारेन्टाइन कार्यालयले चाेरी नाकामा अनुगमन नै नगर्ने गरेकाे बताउनुभयो । दुग्ध व्यवसायी लुईटेलले भन्नुभयाे,-‘ सडकमा रहेका क्वारेन्टाइन कर्मचारीले खेत र खल्यानबाट दैनिक हुने तस्करी देख्दैनन् ।’
मत्स्य व्यवसायी संघ बाँकेका अध्यक्ष झविन्द्र जिसीले त स्थानीय कृषि उत्पादनकाे ओसारपसार गर्दा समेत ट्राफिक प्रहरीले दुख दिने गरेकाे सुनाउनुभयो । उहाँले भन्नुभयो,-‘काेहलपुरकाे माछा बर्दिया लैजाँदा मानखाेलामा छेकेर दुख दिने काम गरिन्छ ।’ उहाँले सुरक्षा निकायलाई दाेष लगाउनु किसान अगुवाकाे नियत नरहेकाे बताउँनुहुँदै भन्नुभयाे,-‘तर सीमाक्षेत्रको तस्करीले हामीलाई साच्चिकै समस्या परेकाे छ । यसकाे समाधानका लागि उहाँहरुसंग सहयाेग चाहेका हाैं ।’
किसानका अगुवाले नेपालगन्ज नाका हुँदै आलुका बाेरा भित्र माछा र चामलभित्र पाउडर दूध तस्करी हुने गरेकाे भन्दै सुरक्षा निकायलाई छापामारेर नियन्त्रणमा लिन चुनाैती नै दिनुभयाे । कार्यक्रममा बाेल्दै सशस्त्र प्रहरी तीस नम्बर गणका प्रमुख शाेभाकान्त खनालले तस्करी नियन्त्रणमा कुनै सम्झौता नहुने बताउँदै भन्नुभयाे,-‘ हामीले तस्करी भएर आएका कृषिजन्य सामाग्री नियन्त्रणमा लिएका छाैं । किसानहरुले सुचना दिनुस् तत्काल बरामद गर्छाै ।’
बर्दियाका किसान नारायण गुरुङले बर्दियामा किसान आफै अघि सरेर सीमामा गस्ती गर्नुपर्नेसम्मकाे अवस्था आएको बताउँदै भन्नुभयाे,-‘ किसान आफै सीमा पुगेर गस्ती गर्न थालेपछि सुरक्षा निकायले साथ दिएको छ ।’ उहाँले तस्करी नियन्त्रणकाे बिषय सुरक्षा निकायमा कस्ताे प्रमुख छ भन्नेमा निर्भर रहेकाे बताउनुभयो । भन्नुभयाे,-‘ राम्रो आए राेकिन्छ नत्र उस्तै …।’