ठेक्का नलाग्दै डुडुवामा ढुंगागीट्टी दाेहनकाे अनुमति


 

नेपालगन्ज । ठेक्का लागेकाे छैन तर डुडुवा गाउँपालिकाले राप्ती नदीबाट ढुंगागीट्टीकाे दोहन गर्न दिइरहेकाे पाइएको छ । पालिकाकाे निर्देशनमा याे हदसम्म प्राकृतिक स्रोतसाधनकाे खुलेआम दाेहन हुँदा कारवाही गर्ने होइन प्रहरी,प्रशासनबाट संरक्षण भइरहेकाे भन्दै अन्य जनप्रतिनिधिले बिराेध गरेका छन् ।

त्यति मात्रै होइन जनप्रतिनिधिले गाउँपालिका अध्यक्षकाे प्रष्ट निर्देशनमा याे काम भइरहेकाे बताएका छन् । वडा नम्बर ६ का अध्यक्ष माेहनराम मिश्र भन्छन्,-‘ठेक्का नगर्ने पालिका प्रहरी नियुक्त गरी नदीजन्य पदार्थ खोलाबाट निकाली अवैध बिक्री गर्नमा पालिका अध्यक्ष नै संग्लन रहेको स्पष्ट छ।’

याे बिषयमा पालिका र अध्यक्षका तर्फबाट कुनै सार्वजनिक टिप्पणी बाहिर आएको भने छैन । तर अध्यक्षकै निर्देशन अवैध काम भएको भन्दै अन्य जनप्रतिनिधी  ढुंगागीट्टी ओसार्ने टिप्पर राेक्न गस्ती गरिरहेका छन् । त्यसपछि मात्रै सुरक्षा निकायले टिप्पर नियन्त्रणमा लिएको छ ।

तीन वटा टिप्परलाई बुधबार राती बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले दुई वटा टिप्पर नियन्त्रणमा लिएको भोलिपल्ट नै डुडुवा गाउँपालिकास्थित हुलाकी राजमार्गबाट थप तीन वटा टिप्पर नियन्त्रणमा लिएको हो ।

राप्ती नदीबाट लोड गरेर फर्किरहेका तीन वटा टिप्परसँग विल चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । ‘राप्ती पुल वारी चेकजाँचका क्रममा स्थानीयसँग विवाद भएको थियो ।,’ सुरक्षाकर्मीले भने- ‘क्रममा एउटा गाडीको बिल देखाइयो, त्यसमा पनि केरमेट भएको देखिन्थ्यो, पछि प्रहरीलाई जिम्मा लगाइएको हो ।’

ती टिप्परलाई प्रहरीले डुडुवा गाउँपालिकास्थित राप्ती पुल वारीबाट नियन्त्रणमा लिएको जनाएको छ । राती टिप्परका चालक, स्थानीय र गाउँपालिकाका कर्मचारीबीच विवाद भइरहेको बेला आफुहरु पुगेर गाडी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कम्दीले जनाएको छ ।

प्रहरीले भे १ क २२६३, २२८९ र १६७५ नम्बरको टिप्पर नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको र थप कारवाही उतैबाट हुने प्रहरीले जनाएको छ ।

बाँकेमा हाल नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया सुरु भएपनि कुनैपनि सवारी साधनले रातमा ढुवानी गर्न नपाइने प्रावधान रहेको छ । यस्तो अवस्थामा रातमा बिलसहित नदीजन्य पदार्थ लिएर आएको सवारी साधनलाई सुरक्षाकर्मी वा सम्बन्धित निकायले रोक्न सक्ने बताइएको छ।

प्रकाशित मितिः     २३ फाल्गुन २०८१, शुक्रबार ०९:०३  |