काेरिया ‘सपना’ त्यागेर सरकारी सेवा लागेका युवाकाे प्रेरणादायी यात्रा


 

गुर्भाकोट–२, सुर्खेतका ताराबहादुर वलीको जीवन एक साधारण गाउँले परिवारमा सुरु भयो। आमा नन्दकुमारी वली र वुवा ओबिलाल वलीका कान्छा छोरा ताराबहादुरले नेपालमै स्नातक तहसम्मको पढाइ पूरा गरे।

पढाइपछि उनले आत्मनिर्भर बन्न अनेकन प्रयास गरे — कहिले नाचगानमा संलग्न भए, कहिले कुखुरा पालनमा हात हाले, त कहिले गाउँमै सानो व्यापार गरेर आर्थिक रुपमा स्थापित हुने कोसिस गरे। तर नेपालमा सहजै रोजगारी पाइने वातावरण नभएकाले ती प्रयासहरू पर्याप्त भएनन्।

वैदेशिक रोजगारीको यात्रा

आफ्नो आर्थिक अवस्थालाई सुधार गर्न उनले वैदेशिक रोजगारीको बाटो रोजे। ३० वर्षको उमेरमा कोरिया गएर उनले केही समय त्यहाँ श्रमिकका रूपमा काम गरे। तर नेपाली कामदारहरूप्रति गरिएको व्यवहारले असन्तुष्ट भएर उनी तीन वर्षमै नेपाल फर्किए।

नेपाल फर्किँदा ताराबहादुरको उमेर ३४ वर्ष भइसकेको थियो। परिवारको सल्लाह अनुसार उनले निजामती सेवामा जागिर खाने लक्ष्य लिए। तर लोक सेवा तयारीका लागि उनका लागि समय चुनौतीपूर्ण थियो — किनकि उमेरको हद ३५ वर्षसम्म मात्र परीक्षा दिन पाइने नियम थियो।

लोक सेवा तयारीको चुनौती

लामो समय पढाइमा ग्याप भएकाले सुरुवातमा उनलाई निकै कठिनाइ भयो। नेपालगन्जमा बस्दै उनले आफ्ना दाजु-भाउजूको सल्लाहमा अनलाइन कक्षा मार्फत लोक सेवा तयारी सुरु गरे। अध्ययनका क्रममा उनले महसुस गरे कि एक्लै भन्दा सहयात्रा आवश्यक छ।

सफलताका लागि सहयात्रा

ताराबहादुरले पढाइमा साथ दिन सक्ने जीवनसाथीको खोजी गरे। यस क्रममा उनी सल्यान जिल्लामा लोक सेवा तयारी गरिरहेकी दिपा रेग्मीसँग परिचित भए। आपसी समझदारी र समान लक्ष्यकै कारण दुवैले विवाह गरे। विवाहपछि दुवै जना काठमाडौं आए र एकअर्कालाई पढाइमा साथ दिँदै निरन्तर मेहनत गर्न थाले।

अन्ततः सफलता

समयको हद नजिकिँदै गर्दा, ३५ वर्षको उमेर पुग्न एक महिना मात्र बाँकी रहँदा ताराबहादुर र उनकी श्रीमती दिपा दुवैले संघीय निजामती सेवामा एकै पटक सफलता हासिल गरे। अहिले दुवै जना सरकारी सेवामा आबद्ध भई आफ्नो जीवन सफलतापूर्वक अगाडि बढाइरहेका छन्।

सन्देश

ताराबहादुर वलीको संघर्षमय यात्रा हामी सबैका लागि प्रेरणादायी छ। धैर्य, निरन्तर मिहिनेत र सही योजना अपनाएमा समयको सीमाले पनि सफलता रोक्न सक्दैन भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्। लोक सेवा तयारीमा लागेका हरेक विद्यार्थीका लागि उनको कहानी आत्मविश्वास र सकारात्मक सोचको प्रतीक बन्न सक्छ।

प्रकाशित मितिः     २७ फाल्गुन २०८१, मंगलवार १२:१२  |