उद्योगले कस्दै नेपालगन्ज–कोहलपुर सम्बन्ध


नेपालगन्ज– कतिपय मुद्दामा नेपालगन्ज र काेहलपुरबीच मतभिन्नता छ । तर पश्चिमकाे मुख्य औद्योगिक करिडाेरले यी दुवै शहरलाई प्रत्यक्ष जाेडेकाे छ भने आर्थिक मुद्दाले सम्बन्ध कसिलाे बनाइरहेकाे छ ।

मुख्यमन्त्री हुँदा शंकर पोखरेलले लुम्बिनी प्रदेशमा तीनवटा महानगर बनाउने योजना अघि सारे । कार्यान्वयन हुन नसकेको उक्त योजना अन्र्तगत भैरहवा–बुटवल जोडेर एउटा महानगर, घोराही–तुलसीपुर सहितको अर्को महानगर बनाउने भन्ने थियो । तीन मध्ये एउटा बाँकेको नेपालगन्ज र कोहलपुर पनि थियो ।

यो योजना कार्यान्वयन हुने तर परै जाओस् औपचारिक मन्चहरुमा छलफल समेत भएको पाइएन । यद्यपी पोखरेलले कुनै सम्भावना र आधार नै नभई हचुवाका भरमा उक्त योजना ल्याएका भने होइनन् । लुम्बिनीमा ‘बिग सिटी’ बनाउने प्रशस्त आधार भनेकै यिनै हुन ।

राजनीतिक दल र सरोकारवाला पक्षले बाँकेमा नेपालगन्ज–कोहलपुरलाई राजनीतिक र प्रशासनिकरुपले जोड्ने बिषयमा खासै रुची राख्ने गरी छलफल र बहस नगरे पनि सन्चारमाध्यमहरुले भने संधै ‘हट इस्यु’ बनाइरहे । नेपालगन्जका पुर्व मेयर तथा हालका सांसद मेयर धवल शम्सेर राणाले बेलाबखत यो बिषयमा जोडिएर छलफलमा सहभागित हुने गरेको देख्न र सुन्न भने पाइन्थ्यो ।

त्यो बाहेक नेपालगन्जमा पनि उक्त बिषयले खासै प्राथमिकता पाएको देखिदैन । कोहलपुरमा छलफल त भएन नै अनौपचारिक छलफलमा पनि ठिक बिपरित प्रतिक्रिया पाइन्थ्यो । नेपालगन्ज कोहलपुर जोड्ने बिषयमा कोहलपुरमा बहुसंख्यकको मनोबिज्ञान भिन्न छ ।

उनीहरु अन्य बिकल्प खोज्नुपर्ने तर नेपालगन्जसंग जोडिनुहुँदैन भन्ने पक्षमा देखिएका छन् । समग्रमा भन्दा नेपालगन्ज र कोहलपुर जोड्ने बिषयमा तिव्र राजनीतिक मतभिन्नता हुने देखिन्छ । उक्त कार्यमा जनस्तरसम्मै विभाजित मनोबिज्ञान देखिने भएकाले सहज भने छैन ।

राजनीतिक र प्रशासनिक सवालमा एक हुन असहज भएपनि आर्थिक मुद्दाले भने नेपालगन्ज र कोहलपुरलाई एउटै मालामा गाँस्ने काम गरेको छ । नेपालगन्ज–जानकी गाउँपालिका र कोहलपुरलाई जोडेकै आर्थिक मुद्दाले हो । कुनै बेला उद्योग खोल्ने बिकल्प एउटा मात्रै थियो, नेपालगन्ज औद्योगिक क्षेत्र । त्यहाँ उद्योगहरु भरिभराउ छन् ।

अन्य उद्योगहरु क्रमश उत्तरतर्फ सर्दैन । जानकी गाउँपालिका अन्र्तगतको गणापुरक्षेत्रमा खुलेका उद्योगहरुले बाँकेमा बढ्दो आर्थिक विकासको चित्र देखाउँछ । नेपालगन्जदेखि गनापुर र कोहलपुरसम्म लहरै उद्योगहरु खुल्ने क्रम बढेको छ । कुनै बेला खेत मात्र देखिने गनापुरक्षेत्रमा अहिले करोडौ लगानीका उद्योगहरु मात्र देख्न पाइन्छ ।

‘कोहलपुर–नेपालगन्जले औद्योगिक विकासमा सहकार्य गर्नुको बिकल्प छैन । अन्य बिषयले के गर्छ त्यो बेग्लै कुरा भयो तर आर्थिक मुद्दाले भने दुबै शहरको सम्बन्ध कसिलो बनाउन सहयोग गरेको छ ।’– नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य चक्र अधिकारी बताउँछन् ।

उनी भन्छन्–‘अहिले पनि हामीले कयौं मुद्दामा सहकार्य गरिरहेका छौं ।’ नेपालगन्ज कोहलपुर औद्योगिक करिडोर निर्माण गरेर उद्योगमैत्री वातावारण निर्माणका लागि जुट्नुपर्ने अवस्था आएको अधिकारीले बताए ।

औद्योगिक क्षेत्र बाहेकका ठाउँमा खुलेका उद्योगहरु उद्योगीहरुले स्वस्फुर्तरुपमा ठाउँ छनौट गरी निर्माण गरेका हुन । त्यस्ता कयौं ठाउँमा उद्योगहरुका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधारको अभाव छ । करोडौं लगानी खर्चिएका उद्योगहरुमा पूर्वाधारका सवालमा केन्द्र,प्रदेश मात्र होइन नजिक सिंहदरवार भनिएका स्थानीय तहले समेत सहयोग गरेको पाइदैन । कतिपय ठाउँमा त उद्योगहरुले पूर्वाधार निर्माणमा स्थानीय जनप्रतिनिधिको बिरोध सामना गरिरहेका छन् ।

नेपालगन्ज उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली नेपालगन्ज र कोहलपुर औद्योगिक करिडोरका रुपमा विकास भइसकेको बताउँछन् । ‘भोली नेपालगन्ज र कोहलपुर मिसिएर महानगर बन्छ वा बन्दैन त्यो बहस र छलफलको कुरा हो । आर्थिक मुद्दाले भने यि दुबै शहरलाई जोडिसकेको छ ।’– महासचिव ओलीको भनाई छ । आर्थिक मुद्दामा दुबैक्षेत्रका उद्योग व्यवसायीहरु एक ठाउँमा उभिएर समृद्ध बाँकेको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ओलीले ।

प्रकाशित मितिः     १ चैत्र २०८१, शनिबार ०७:४२  |